काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव ढुंगानाले विदेशमा बसेका नेपालीलाई पनि मताधिकार हुनुपर्ने भन्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले राखेको मागमा आपत्ति जनाएका छन् ।
सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा बुधबार उनले पार्टीमा निर्णय नगरी महामन्त्रीहरू निर्वाचन आयोग गएको भन्दै आपत्ति जनाएका हुन् ।
“विदेशमा बसेकालाई मताधिकारको व्यवस्था गर्नुपर्ने विषय पहिले केन्द्रीय समितिमा छलफल हुनुपर्ने थियो । पार्टीमा छलफल नगर्ने तर दुई महामन्त्री निर्वाचन आयोग जाने मिल्ने कुरा होइन,” उनले बैठकमा भने, “पार्टीको निर्णय संस्थागत हुनुपर्छ । आफूखुसी गएर कुरा गर्दै जाने हो भने भोलि अर्को पदाधिकारी कोहीसँग कुरा गर्लान् । त्यसलाई पार्टीको निर्णय कसरी मान्न सकिन्छ ?”
उनले पार्टी प्यालेसमा बोलेर पार्टी सुध्रिने हो भने किन कार्यालयमा बैठक गर्ने भन्दै प्रश्न समेत गरे । केन्द्रीय समितिमा धारणा राख्नुपर्नेमा उनको जोड थियो ।