काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद शेरबहादुर तामाङले नागरिकता संशोधन विधेयक तत्काल फिर्ता गर्न माग गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले वर्तमान विधेयक समावेशी नभएको बताए ।
“नेपालको संविधान ७२ मा आएको छ । यो विधेयक २०६३ लाई संशोधन गर्न आएको हो । तर, यसमा संविधान आएपछि प्राप्त समावेशी समानताको प्रावधान समेटिएको छैन,” उनले भने, “पुरुषले विदेशी रोजेको श्रीमतीलाई तत्काल नागरिकता आउने, तर विदेशी ज्वाइँले नागरिकता नपाउने अर्थात् छोरीले रोज्न नपाउने ? यो समावेशी भएन ।”
नागरिकता बेलाबेला खुल्ने टेन्डर नभएको भन्दै उनले अघिल्लो सरकारले ल्याएको नागरिकता विधेयकले ती विषय समेटेको उल्लेख गरे । सोही कारण अहिलेको विधेयक फिर्ता लिनुपर्ने उनको भनाइ छ ।
उनले नागरिकता विधेयकले महिला र पुरुषलाई मात्र चिनेको भन्दै तेस्रोलिंगीको पहिचान र अधिकार दिने आधार कतै नभएको बताए ।
“लैंगिक पहिचान दिँदैन, तेस्रोलिंगीले नागरिकता पाउने विषय यसले बोल्दैन, वञ्चित गराउने स्थिति प्रस्ट छ,” उनले भने ।
उनले विधेयक पुनर्लेखन गर्न पनि माग गरे ।