काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसको शेखर कोइराला पक्षले सोमबारदेखि सुरु हुने पार्टी केन्द्रीय समिति बैठकमा सरकारको काम, कारबाहीबारे गम्भीर समीक्षा गर्ने एजेन्डा तय गरेको छ ।
आइतबार काठमाडौंको विशालनगरमा बसेको कोइराला पक्षको बैठकले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको काम कारबाहीबारे केन्द्रीय समिति बैठकमा समीक्षा गर्नुपर्ने निष्कर्ष निकालेको हो ।
पार्टी नेतृत्वको सरकारमाथि भ्रष्टाचारको आरोप लागेकाले सरकारको काम कारबाहीबारे गम्भीर समीक्षा गरिनुपर्ने नेता चन्द्र भण्डारीले बताए ।
"भोलिदेखि हुने केन्द्रीय समिति बैठकमा स्थानीय तह र सरकारको गम्भीर समीक्षा हुनुपर्छ । सरकारले ल्याएको बजेटले पारेको असरको बारेमा पनि छलफल हुनुपर्छ । पार्टीलाई विधिवत तरिकाले चलाउने कुराहरूमा पनि केन्दीय समिति बैठकमा छलफल गर्ने, कांग्रेसलाई कसरी बलियो बनाउने, आगामी चुनावमा कांग्रेस कसरी जाने ? र, गठबन्धनका बारेमा पनि अझ बृहत्तर रूपमा पार्टीलाई फाईदा पुग्ने तरिकाले छलफल गर्ने भन्ने विषयमा कुरा भयो । पार्टीको भ्रातृ संस्थाहरूदेखि विभागसम्मको गठनको कामलाई समयमै गर्नुपर्छ भन्ने विषयमा पनि छलफल हुन्छ," उनले भने ।
कोइराला पक्षले सरकारले ल्याएको बजेटबारे पनि असन्तुष्टि व्यक्त गर्दै आएको छ । त्यसैगरी पार्टी सभापतिसमेत रहेका देउवाले पार्टीलाई विधिवत रूपमा अघि बढाउन नसकेको कोइराला पक्षको आरोप छ ।
बैठकका पार्टीका उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, नेता डा. रामशरण महतलगायतको सहभागिता रहेको थियो ।