काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई)का राजदूत सैयद हमदान अल–नक्बीबीच शिष्टाचार भेट भएको छ ।
मन्त्री कुँवर र राजदूत नक्बीबीच यूएईमा काम गर्ने नेपाली श्रमिकका समस्यालाई सहजीकरण गर्ने विषयमा कुराकानी भएको बताइएको छ ।
राजदुत नक्बीलाई मन्त्री कुँवरले यूएईबाट कामदारको विषयमा कुनै नयाँ प्रस्ताव आएमा दुई देशबीच आपसमा सरसल्लाह गरेर अगाडि बढ्ने जानकारी गराएका छन् । साथै, उनले यूएईका ठूला लगानीकर्ताहरूलाई नेपालको पर्यटन उद्योग, हाइड्रोपावर, चिकित्सा शिक्षा, इजिनियरिङ र सेवा क्षेत्रमा लगानी गर्न आह्वान समेत गरेका छन् ।
राजदूत नक्बीले आफूलाई समय दिएर भेटवार्ता गर्ने अवसर दिएकोमा मन्त्रीलाई धन्यवाद दिएका छन् ।