काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयहरूमा तालाबन्दी लगाउने काम हुन नदिन सरकार सचेत रहेको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री पौडेलले विश्वविद्यालयहरूमा तालाबन्दी लगाउने काम सदाका लागि अन्त्य गर्न सरकारले समयमा परीक्षा लिने, परिणाम निकाल्ने र विद्यार्थीहरूले पठनपाठनसम्बन्धी उठाएका अन्य मागहरूको सम्बोधन गर्न गम्भीर छलफल गरिरहेको बताए ।
विश्वविद्यालयहरूमा तालाबन्दी लगाउन नहुने विषयमा सांसदहरूले राखेको धारणा जायज रहेको उनको भनाइ छ । मन्त्री पौडेलले सांसदहरूले तालबन्दीको विरोध गरेपछि त्रिभुवन विश्वविद्यालयलगायतका विश्वविद्यालयहरूमा लगाइएको तालाबन्दी खुलेको पनि स्मरण गराए ।
"चालु रहेका विश्वविद्यालयहरूलाई उहाँहरूको परीक्षा प्रणाली, परीक्षा निकाल्ने समय अवधि र त्यसलाई नियमन र नियमित गर्नको निम्ति हामी उहाँहरूसँग गम्भीर रूपमा छलफल, संवाद र कुराकानीमा छौँ र लामो समयपछि त्रिभुवन विश्वविद्यालयको तालाबन्दी पनि यसैसँग सम्बन्धित रहेर सदनमा नै यो विषयमा कुरा उठेको हुनाले कतिपय तालाबन्दी गर्ने पक्षलाई पनि नैतिक दबाब भएकाले अहिले त्रिभुवन विश्वविद्यालयलगायतका विश्वविद्यालयहरूमा तालाबन्दी छैन । र, यो तालाबन्दी नहोस् भन्ने कुरा जुन उठाउनु भएको छ । त्यो जायज कुरा हो," उनले भने ।
मन्त्री पौडेलले विश्वविद्यालयको पठनपाठनमा अवरोध हुने खालका कुनै पनि गतिविधि राम्रो नभएको बताए ।