काठमाडौं । यती एयरलाइन्सको टिकट भाइबरबाट लिन सकिने भएको छ ।
भाइबरबाट आफ्नो टिकट लिन सकिने सुविधा मिलाएको एयरलाइन्सले जनाएको छ । भाइबर नम्बर ‘१०१०१०१०१०’ मा म्यासेज गरेर टिकट लिन सकिने एयरलाइन्सले जनाएको छ ।
यात्रुलाई सहज तरिकाले टिकट उपलब्ध गराउने उद्देश्यले भाइबर नेपालसँगको सहकार्यमा ‘भर्चुअल सेल्स काउन्टर’को व्यवस्था गरिएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।
‘‘हाम्रो भर्चुअल काउन्टर बिहान ७ देखि बेलुका ७ बजेसम्म १२ घण्टा खुला रहनेछ । सो समयभित्र यात्रुहरूले भाइबर नम्बरमा मेसेज पठाई आफूलाई आवश्यक परेको टिकटको लागि अनुरोध गर्न सक्नुहुनेछ । टिकटको भुक्तानी क्यूआर कोडमार्फत सजिलैसँग गरी टिकट लिन सकिनेछ, ’’ उनले भने ।
यात्रुलाई टिकट काट्न थप सहज बनाउने उद्देश्यले सेवा सुरु गरिएको कम्पनीले जनाएको छ । तत्काललाइ यो सेवा मेसेज मात्र पठाउन मिल्ने गरी सुरु गरिएको र केही समयपश्चात् कल पनि गर्न मिल्ने व्यवस्था मिलाइने यती एयरलाइन्सले जनाएको छ ।