इस्तानवुल । टर्कीले फिनल्यान्ड र स्विडेनको उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)को सदस्यता आवेदनप्रति अंकाराको आपत्ति फिर्ता लिने सम्झौता अन्तर्गत ती दुवै मुलुकलाई ३३ जना सन्दिग्ध आतंककारीलाई सुपुर्दगी गर्न दबाब दिएको छ ।
टर्किस न्यायमन्त्री बेकिर बोज्दागले उनीहरूलाई आफ्नो वचन पूरा गर्न टर्कीले अनुरोध गरेको बताएका छन् । अंकाराले फिनल्यान्ड र स्विडेन दुवैलाई कुर्दिस लडाकुहरूलाई आश्रय र सहयोग दिने गरेको आरोप लगाउने गरेको छ ।
मंगलबार राति यी दुवै मुलुकले सन्दिग्ध आतंककारी टर्कीलाई सुपुुर्दगी गर्न बाँकी कामलाई चाँडै नै सम्बोधन गर्न सहमति जनाएका थिए ।
रुसले युक्रेनमाथि आक्रमण गरेको घटनालाई लिएर प्रतिक्रिया जनाउने क्रममा गत मे महिनामा फिनल्यान्ड र स्विडेनले ३० सदस्यीय नेटोको सदस्यता लिने घोषणा गरेका थिए । टर्कीले सुरुमा ती मुलुकको नेटो आवेदनविरुद्ध विशेषाधिकार प्रयोेग गर्ने बताएको थियो ।
तर, पछि स्पेनको म्याड्रिडमा भएको चार घन्टा लामो वार्तापछि त्रिपक्षीय सहमति भएको थियो । नेटोले चाँडै नै फिनल्यान्ड र स्विडेनलाई औपचारिक रूपमा सदस्यता प्रदान गर्ने अपेक्षा गरिएको छ ।
रुसले नेटो विस्तारको विरोध गरेको छ ।
टर्किस मन्त्री बोज्दागले फिनल्यान्डलाई कुर्दिस्तान वकर्स पार्टी (पीकेके)का ६ जना र निर्वासित टर्किस धार्मिक गुरु फेतहुल्लाह गुलेनको अभियानसँग आबद्ध अन्य ६ जना सदस्य हस्तान्तरण गर्न माग गरेका छन् ।
त्यसैगरी, टर्कीले स्विडेनबाट पनि ११ जना पीकेके सदस्य र १० जना गुलेनवादीलाई सुपुर्दगी गर्न माग गरेको छ । टर्की भित्रै स्वतन्त्र कुर्दिस्तानको माग राख्दै टर्किस सरकारविरुद्ध सशस्त्र संघर्ष गर्नका लागि सत्तरीको दशकको उत्तरार्धमा पीकेकेको स्थापना भएको थियो ।
बीबीसीबाट ।