काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका महामन्त्री राजाराम बर्तौलाले निर्मल निवास राजनीतिक फोहोरी खेलमा सक्रिय भएको आरोप लगाएका छन् । सोमबार बाँकेको नेपालगञ्जमा बोल्दै उनले निर्मल निवासको इसारामा राप्रपा नेपाल र नेतृत्वलाई कमजोर बनाउने खेलमा विभिन्न शक्ति लागेको बताए ।
अगुवा कार्यकर्ता भेटघाटमा बर्तौलाले साझा र अभिभावक राजाको रुपमा बस्ने स्वभाव र चरित्र नभएकाले तत्कालीन राजा ज्ञानेन्द्रको पुनरागमनको कुनै सम्भावना नभएको जिकिर गरे ।
“व्यापार–व्यवसाय, नाचगान, खानपिनमा बढी शौख भएको राजा हुनुहुन्छ, त्यसमा नै रमाउँदा राम्रो हुन्छ,” बर्तौलाले भने, “राजसंस्थाप्रति सम्मान छ । बिरोध आलोचना गर्नु छैन । तर, आफ्नो मान मनितोमा त बस्नु पर्छ ।”
उनले राप्रपा नेपालका कार्यकर्तालाई भड्काउने तथा छोड भनेर लोभ, आश्वासन दिराखेको सूचना र प्रमाण आफूहरुसँग भएको भन्दै त्यस्ता कार्य तुरुन्त बन्द गर्न उनले निर्मल निवासलाई चेतावनीसमेत दिए ।
“राजाको व्यवहार, चरित्र र चिन्तनका कारण धेरैले एजेन्डा छोड्दै गएका छन्, यस्तै फुच्चे दाउमा लागिररहे थप प्रत्युत्पादक हुन्छ, त्यसैले चाँढै सच्चिदा राम्रो हुन्छ,” उनले भने ।