काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार मात्र मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् ।
आइतबार एकीकृत समाजवादीबाट सहभागी भएका मन्त्रीहरूले राजीनामा बुझाएसँगै देउवाले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका हुन् । बालुवाटार स्रोतकाअनुसार राष्ट्रपति कार्यालयमा सोमबारका लागि मात्र नयाँ मन्त्रीहरूको शपथको समय मागिएको छ ।
“आजका लागि मन्त्रिपरिषद् पुनर्गठनको कुनै तयारी छैन । प्रधानमन्त्रीज्यूले भोलि मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारीमा हुनुहुन्छ,” स्रोतले भन्यो ।
यता, राष्ट्रपति कार्यालयले पनि हालसम्म प्रधानमन्त्री कार्यालयबाट औपचारिक पत्र नआएको बताएको छ ।
“कुनै जानकारी हामीकहाँ आइपुगेको छैन । पत्र आउने क्रममै होला,” राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले भने ।
पार्टीबाट सरकारमा सहभागी मन्त्रिहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गर्दै एकीकृत समाजवादीले जेठ २२ गते नै प्रधानमन्त्री देउवालाई पत्र पठाएको थियो । तर, बजेटलगायत कारण देखाउँदै मन्त्री हेरफेरमा गरिएको थिएन ।