काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमा कार्यक्रम लागु भएका अस्पतालहरूलाई बीमा बापत्को स्वास्थ्य सेवा नरोक्न निर्देशन दिएको छ । बोर्डले विज्ञप्ति जारी गर्दै जनशक्तिको अभावमा दाबी भुक्तानीमा ढिलाई भइरहेको भन्दै दाबी भेरिफाइ भएका स्वास्थ्य संस्थाहरूको यथाशीघ्र भुक्तानी गर्न बोर्ड लागि परिरहेको जनाएको छ ।
आगामी दिनमा कार्यतालिका बनाएरै नियमित भुक्तानी गर्ने बोर्डले प्रतिवद्धता जनाएको छ । चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म १८ लाख ५३ हजार ९५३ वटा दाबीलाई प्राथमिकताका साथ परीक्षण गर्ने कार्य भइरहेको पनि बोर्डले जनाएको छ ।
स्वास्थ्य बीमाअन्तरगतको सेवा दिइएवापत् पछिल्लो मंसिरयताको शोधभर्ना रकम नपाएको भन्दै काठमाडौंको त्रिवी शिक्षण अस्पतालले असार १५ गतेबाट र झापाको बी एण्ड सी तथा मोरङको नोबेल मेडिकल अस्पतालले असार २० गतेबाट बीमा सेवा रोक्ने चेतावनी दिएका थिए ।