काठमाडौं । सार्वजनिक यातायात व्यवसायीहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै छोटो दूरीमा चल्ने सवारी साधनको भाडा बढाउन माग गरेका छन् । व्यवसायीले वागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयसँग स्वचालित भाडा समायोजन गर्न माग गरेका हुन् ।
सार्वजनिक यातायात केन्द्रीय महासघं नेपालका महासचिव भरत नेपालले भाडा समायोजन गर्न माग गर्दै आज मन्त्रालयलाई पत्र बुझाएको बताए । “पटक–पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा पनि सरकारले सार्वजनिक सवारी साधनको भाडादर समायोजन गरेको छैन । आज पनि पुनः पत्र बुझाएका छौँ । मन्त्रालयले तत्काल भाडा नबढाए आन्दोनलमा उत्रिन्छौँ,” महासचिव नेपालले भने ।
महासंघले भाडा बढ्नेमा मन्त्रालयप्रति आशावादी रहेको र छिट्टै भाडा बढेर आउने भन्दै व्यवसायीलाई जानकारी गराएको छ । पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै सर्वसाधारण प्रत्यक्ष मर्कामा परेका छन् । यातायात व्यवसायीहरूले सरकारले भाडा नबढाएको भन्दै लामो समयदेखि मनपरी भाडा असुल्दै आएका छन् ।