काठमाडौं । वायु सेवा सञ्चालक संघ नेपालले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । आजदेखि उडान बन्द गर्ने घोषणा गरेको संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले एकतर्फी निर्णय गरेको भन्दै मंगलबार पत्रकार सम्मेलन गरेको संघको आन्दोलन फिर्तासँगै नियमित उडान हुने भएको छ । बुद्ध एयरले आफ्नो नियमित उडान कार्यक्रम रहेको सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेको छ । ११ बजेदेखि नियमित उडान हुने बुद्धले जानकारी दिएको छ ।
यस्तै यती एयरलाइन्सले पनि गएराति नै फेसबुकमा लेखेको छ, “भोलिदेखी अनिश्चितकालका लागि स्थगित भएका हाम्रा सम्पूर्ण उडानहरु नियमित हुने जानकारी गराँउदछौं ।”
गृह मन्त्रालयको समन्वयमा संघ र प्राधिकरणबीच मंगलबार राति भएको वार्तामा प्राधिकरण र वायुसेवा सञ्चालबीच उडान नरोक्न सहमति भएपछि उडान नियमित हुने भएको हो ।
संघले पाँच बुँदे माग अघि सार्दै सम्बोधन नभएसम्म उडान रोक्ने घोषणा गरेको थियो । यात्रु सेवा शुल्क ल्यान्डिङ, पार्किङ, नेभिगेसनलगायत सम्पूर्ण शुल्क वृद्धि फिर्ता लिन संघले आग्रह गरेको थियो । संघले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकोप्टर सञ्चालनका लागि दीर्घकालीन हेलिप्याड, मर्मत सम्भारका लागि ह्याङरलगायत भौतिक पूर्वाधारका लागि स्थान उपलब्ध गराउनुपर्ने माग गरेको थियो ।
नेपाललाई युरोपियन युनियनको हवाई सुरक्षाको सूचीबाट हटाउन सरकारले तत्काल पहल गर्नुपर्नेलगायत संघले माग गर्दै आएको छ ।