मस्को । रुसी राष्ट्रिय ध्वजावाहक धेरै जहाजलाई युक्रेनी अन्न विदेशमा ओसार्दै गरेको देखिएको बताइएको छ । आफ्नो मुलुकमाथि पश्चिमी मुलुकहरुले लगाउँदै आएका नाकाबन्दीहरु हटाउन दवाव दिने उद्देश्यले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले निरन्तर विश्वव्यापी भोकमरी समस्या सिर्जना गर्ने धम्की दिंदै आएका छन् ।
खाद्यान्नलाई लिएर विश्वलाई बन्धक बनाउँदै यसरी युक्रेनबाट चोरीका अन्न सिरियाली वन्दरगाहमा बेच्नुलाई राजनीतिक विश्लेषकहरुले अपराधको संज्ञा दिएका छन् ।
अन्तर्राष्ट्रिय संचार माध्यम रोयटर्सका अनुसार अमेरिकी स्याटेलाइट कम्पनी म्याक्सार टेक्नोलोजिजले दुईवटा ठूला रुसी जहाजले अन्नको कार्गो सिरियाली वन्दरगाहहरुमा ओसार्दै गरेको देखेको हो ।
म्याक्सारले तिनै जहाजहरुले केहीदिनअघि मात्र क्रिमियाको बन्दरगाह शहर सेभास्तोपोलमा पनि यसरी नै अन्न लोड गरिरहेको देखिएको जनाएको छ । त्यहाँ हप्तौं सम्म रुसी फौज चोरिएका युक्रेनी अन्न लोड गर्नमा व्यस्त रहेको बताइएको छ ।
२४ फ्रेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरे देखि नै सिरिया रुसको निकटतम गठबन्धन मुलुकको रुपमा देखापरेको छ । र, सिरियाले रुसी जहाजलाई आफ्ना वन्दरगाह खुल्ला गरिदिएको छ । युक्रेनी अधिकारीहरुले रुसी फौजलाई चोरीएको अन्न बोकिरहेको चेतावनी दिँदै अन्य मुलुकहरुलाई रुसबाट अन्न नकिन्न आह्वान गरिरहेका छन् ।
संयुक्त राष्ट्र संघको तथ्यांक अनुसार साठी प्रतिशत सिरियाली जनता खाद्यान्न अभाबबाट पिडित रहेका छन् ।
लेवनान स्थित युक्रेनी राजदुतावासले विगत तीन महिना भित्र ४ करोड अमेरिकी डलर भन्दा बढि मुल्य पर्ने करिव १ लाख टन गहुँ रुसले सिरियामा ओसारिसकेको जनाएको छ ।