चरीकोट । दोलखाको शैलुङ गाउँपालिकाको एक घरमा आगलागी हुँदा निसास्सिएर एक वृद्धाको मृत्यु भएको छ । शैलुङ–१ मा घरमा विद्युत् सर्ट भएर आगलागी हुँदा ८५ वर्षीया निदकुमारी मगरको निसास्सिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज बिहानको समयमा उक्त घरमा विद्युत् सर्ट भएर आगलागी भएको र झ्यालढोका सबै बन्द रहेका कारण घरमा रहेकी वृद्धाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरको छुट्टै कोठामा वृद्धा एक्लै सुत्ने गरेको र घरमा आगलागी भएपछि स्थानीयवासीले उद्धारको प्रयास गरे पनि निसास्सिएर वृद्धाको मृत्यु भएको स्थानीयवासीले बताएका छन् । आगलागीमा परी घर पूर्ण रूपमा नष्ट भएको छ । बाख्रा तथा कुखुरा समेत जलेर नष्ट भएको छ ।
आगलागीबाट के–कति क्षति भयो भन्नेबारेमा विवरण संकलन भइरहेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस