काठमाडौं । अमेरिकी सेनाका प्यासिफिक कमान्ड (यूएसएएसी)का कमान्डर वरिष्ठ जर्नेल चार्ल्स 'ए' फ्लीनले आइतबार पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र (बीपीओटीसी) र शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेज (एसीएससी)को भ्रमण गरेका छन् ।
जेठ २६ गते नेपालको औपचारिक भ्रमणमा आएका जर्नेल फ्लीनको बीपीओटीसी भ्रमणका क्रममा अमेरिकाबाट शान्ति स्थापना कार्यका लागि प्राप्त सहयोग भविष्यमा थप वृद्धि गर्दै लैजानेलगायत विविध विषयमा छलफल भएको थियो ।
त्यसपछि एसीएससी पुगेका फ्लीनले कलेजका शिक्षाध्यक्षसँग भेटघाट तथा तालिमरत शिक्षार्थी अधिकृतहरूसँग अन्तरक्रिया गर्नुका साथै कलेज परिसरमा वृक्षरोणप गरेको थिए ।
उनी नेपालको चारदिने औपचारिक भ्रमणका लागि आएका थिए ।
“मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीबाट भएको यस भ्रमणले दुई देशबिचको सैनिक सम्बन्धलाई थप प्रगाढ बनाई आपसी सद्भाव बढाउन मद्दत पुगेको विश्वास नेपाली सेनाले लिएको छ,” जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।