काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसले सामाजिक सुरक्षा ऐनको प्रभावकारी कार्यान्वयन गर्न माग गरेको छ ।
आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख अतिथि रहेको ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलनमा अध्यक्ष पुस्कर आचार्यले नेपाली कांग्रेसको उदासीनताले श्रम ऐन र सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा नआएको बताए ।
“ट्रेड युनियन कांग्रेसकै नेतृत्वमा ट्रेड युनियन अभियान चलेको हो । सबै ट्रेड युनियन संगठनको सहकार्यमा ऐन, कानुनहरू बनेका छन्, त्यसको कार्यान्वयन हुनसकेको छैन । यो सरकारले त्यसको कार्यान्वयन गर्नुपर्छ,” अध्यक्ष आचार्यले भने, “शेरबहादुर देउवाज्यू नै प्रधानमन्त्री भएका बेला श्रम ऐन आयो । समाजिक सुरक्षा ऐनको कार्यान्वयन हुने दिनलाई केपी ओली सरकारले नयाँ युगको सुरुवात भन्दै पोलपोलमा ओलीको फोटो झुन्ड्यायो, तर कार्यान्वयन भएन ।”
हरेक मजदुरको सुरक्षाको ग्यारेन्टी हुने गरी ऐन कार्यान्वयन नहुँदासम्म नयाँ युग नआउने भन्दै अब सरकारले कार्यान्वयन गर्नुपर्ने बताए । कांग्रेसकै पालामा श्रमसम्बद्ध कानुनहरू आएको र कांग्रेसले नै उदासीनता देखाउँदा कार्यान्वयनमा समस्या भएको उनले उल्लेख गरे । उनले श्रम क्षेत्रको सम्मान हुने वातावरण निर्माणमा पनि कांग्रेस चुकेको बताए ।
“शिक्षकहरूलाई वडा तहमा जाँदा पनि हेपिने गरी व्यवहार भएको छ । बैंकिङ क्षेत्रमा मर्जरको नाममा पद घटुवा गर्ने काम भएको छ,” कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवासामु गुनासो गर्दै उनले भने, “दुर्भाग्यपूर्ण नै भन्नुपर्छ, अहिलेकै सरकारले २५ वटा क्षेत्रमा हड्तालमा रोक लगाएको छ ।”
उनले लोकतान्त्रिक सरकारले संवादबाट काम लगाउनुपर्नेमा जोड दिए । हड्तालमा प्रतिबन्ध लगाउने र डन्डा चलाएर काममा खटाउने लोकतान्त्रिक सरकारको चरित्र नभएको बताए ।