काठमाडौं । नेपाल उद्योग परिसंघले सरकारले ल्याएको आर्थिक वर्ष २०७९/०८०को बजेटको स्वागत गरेको छ । बजेटले निजी क्षेत्रलाई प्रोत्साहन गर्दै औद्योगीकरण बढाउनेगरी ल्याएको परिसंघको ठहर छ ।
बजेटमार्फत नेपाली अर्थतन्त्रको स्वरूप परिवर्तन गरी उत्पादनमूलक अर्थतन्त्रको जग बसाल्ने घोषणा हुनुलाई परिसंघले सकारात्मक रूपमा लिएको जनाएको छ छ । यसबाट नेपालमा उत्पादित वस्तुको उपभोग वृद्धि गर्दै स्वदेशी उद्योगको संरक्षण गर्ने दिशातर्फ सरकार उन्मुख रहेको बुझाइ परिसंघको छ ।
तर, सरकारको राजस्व नीतिका कारण वायर रड उद्योग, घ्यू तेल उद्योग, सेनेटरी प्याड उत्पादन गर्ने उद्योग जस्ता स्वदेशी उद्योगहरू भने प्रत्यक्ष मारमा परेको परिसंघले जनाएको छ ।
भारत सरकारले स्वदेशी उद्योगहरूको संरक्षण गर्ने नीति अवलम्बन गर्दै वायर रड निर्यातमा १५ प्रतिशत निर्यात कर लगाएको छ । तर, वायर रडबाट बन्ने तयारी सामानको निर्यातमा कुनै कर नलगाएको परिसंघले बताएको छ । यसले वायर रड आयात गरी विभिन्न प्रकारका फलामे तारहरू नेपालमा उत्पादन गर्दा नेपाली उद्योगहरूको लागत निकै बढी पर्ने परिसंघको भनाइ छ ।