काठमाडौं । महालक्ष्मी विकास बैंकले नयाँ मुद्दती योजना ‘महालक्ष्मी क्रमिक बचत खाता’ सार्वजनिक गरेको छ । जेठ महिनालाई वार्षिकोत्सव महिनाको रूपमा मनाउन लागेको बैंकले आफ्नो २८औँ वार्षिकोत्सवको अवसर पारेर उक्त बचत खाता सार्वजनिक गरेको हो ।
एक हजार रुपैयाँमै मुद्दती खाता खोल्न सकिने ‘महालक्ष्मी क्रमिक बचत खाता’ मा दैनिक मौज्दातमा १२ प्रतिशत ब्याज गणना गरी उक्त ब्याज त्रैमासिकरूपमा साँवामा गाभी एकमुष्ठरूपमा भुक्तानी गरिने बैंकले जनाएको छ ।
यस योजनाअन्तर्गत खाता खोल्ने ग्राहकहरूले पाँच वर्षसम्म जुनसुकै समयमा यस खातामा रकम जम्मा गर्न सक्नेछन् । यस्तै, महालक्ष्मी विकास बैंकमा जुनसुकै बचत खाता खोलेका ग्राहकले मुद्दती खाता योजनाअन्तर्गतको महालक्ष्मी क्रमिक बचत खाता खोल्न सक्ने बैंकले जनाएको छ ।