काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अछाम घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सरकारलाई रुलिङ गरेका छन् । अछामको पञ्चदेवल नगरपालिकाका किशोर विनोद शाहीको मृत्यु भएको घटनाले राजनीतिक रूपमा लिँदै संसदमा पुगेपछि सभामुखले नै सरकारलाई निर्देशन दिनुपरेको हो ।
बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले उक्त घटनाबाट आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा एमाले सांसद सांसद यज्ञबहादुर बोगटीले शाहीको मृत्युको घटनामा प्रहरीले जाहेरीसमेत लिन नमानेको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए । “त्यहाँको प्रशासनले टेरेको अवस्था छैन, हत्यारालाई कारबाही गर्ने प्रक्रिया अगाडि बढेको छैन, मुद्दा दर्ता गरेको छैन, लासको पोस्टमार्टमसमेत भएको छैन,” बोगटीले भनेका थिए, “सभामु्ख महोदय कसैका मृत्यु भएको घटनामा उजुरी नलाग्ने, छानबिन नहुने ?”
सभामुख सापकोटा त्यसलगत्तै सरकारलाई निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएका हुन् । “माननीय सदस्यले उठाउनुभएको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा म नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,” सभामुख सापकोटाले भने, “घटनाको सत्य तथ्य पत्ता लगाई दोषीमाथि कारबाहीको प्रक्रिया अगाडि बढाउन नेपाल सरकारलाई निर्देशन गर्दछु ।”
यसअघि, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार संयुक्त विज्ञप्ति जारी गरी पीडित पक्षको किटानी जाहेरी दर्ता गर्न, दोषीलाई पक्राउ गरी कारबाही अघि बढाउन माग गरेका थिए ।
गत वैशाख ३० गते स्थानीय तहको निर्वाचनका क्रममा पञ्चदेवल विनायक नगरपालिकामा कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएको थियो । स्थानीय प्रशासनका अनुसार विवादका क्रममा कांग्रेस कार्यकर्ताले एमाले कार्यकर्तामाथि कुटपिट गरेपछि करीब तीन घण्टा मतदान रोकिएको थियो । त्यही विवादलाइ लिएर पछि एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि कुटपिट गरेका थिए ।
कुटपिटपछि दिएको जाहेरीका आधारमा १७ जेठमा प्रहरीले पक्राउ गर्न खोज्दा एमाले कार्यकर्ताले अवरोध गरेपछि दोहोरो झडप भएको थियो । सोही क्रममा बेपत्ता भएका शाही मृत भेटिएका थिए ।