विराटनगर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ को साझेदारीमा व्यापार सहजीकरण सम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ । विराटनगरमा दुई दिनसम्म चलेको प्रशिक्षणमा विश्व व्यापार संगठन व्यापार सहजीकरण सम्झौता ट्रेड फ्यासिलिटेसन एग्रिमेन्ट ९टीएफए० माथि छलफल भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै व्यापार सहजीकरणको प्रशिक्षणले व्यापार व्यवसायमा रहेका समस्याहरूको पहिचान र तिनीहरूको समाधान गरी देशको आर्थिक समृद्धिमा सहयोग पुग्ने बताए । उनले भने, “अहिले विश्व नै आर्थिक संकटमा परेको अवस्थामा नेपालमा पनि त्यसको असर परेको छ । व्यवसायीहरूका समस्यामाथि सरकार गम्भीर छ ।”
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य प्रदेश उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं प्रदेश नं। १ मुख्यमन्त्रीका आर्थिक सल्लाहकार राजेन्द्र राउतले हालैको बजेटबाट फलाम, सेनेटारी प्याड उत्पादन गर्ने उद्योगहरू मारमा परेको हुंदा अरवौंको लगानी रहेका यस्ता उद्योगको संरक्षण गर्न सरकारले चासो दिनुपर्ने बताए ।
उनले भने, “विशेष आर्थिक क्षेत्र स्थापनाका लागि सुनसरीको अमडुवामा गर्ने भनिए पनि हरेक वर्षको बजेटमा उल्लेख हुन्छ, तर कार्यान्वयन हुन सकिरहेको छैन अतः छिटो कार्य सम्पन्न गर्न प्रदेश सरकारमार्फत यसको निर्माण गरिनुपर्दछ ।” राउतले प्रदेश नं। १ को विराटनगरमा प्रदर्शनी स्थल निर्माणका लागि पटक–पटक माग गरे पनि बजेटले सम्बोधन नगरेकोमा दुःख प्रकट गरे ।
महासंघ प्रदेश नं १ का अध्यक्ष टीकाराज ढकालको सभापतित्वमा भएको कार्यक्रमका सहभागीले व्यापार सहजीकरणमा हुने प्रशासनिक बाधाहरूप्रति लक्षित भई व्यापारमा अझ धेरै दक्षता ल्याउने र सिमानामा अनावश्यक अनुमगन, धेरै कागजाती झन्झटबाट मुक्त गरिनुपर्ने बताए । कार्यक्रममा म्यानुअल प्रक्रिया, सीमा निकायहरूबीच समन्वयको अभाव, जटिल र अप्रभावकारी नियम र प्रक्रिया आदिका विषयमा प्रशिक्षण समेटिएका थिए ।
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह–सचिव डा. नारायण रेग्मी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहरा, अन्तर्राष्ट्रिय व्यापार केन्द्रका राजेश अग्रवाल, भीम हमालले व्यापार व्यवसायहरूको लागि, व्यापार सहजीकरण सम्झौताले अन्तर्राष्ट्रिय व्यापार गर्नमा सहयोग पुग्ने र कम खर्चमा दु्रतगतिमा अन्तर्राष्ट्रिय मूल्य श्रृङ्खलामा पहुँच सुनिश्चित गर्न सजिलो हुने बताए ।
मोरंग सुनसरी औद्योगिक करिडोरका साना तथा मझौला उद्योगका ३५ जना प्रतिनिधि प्रशिक्षणमा सहभागी थिए । प्रशिक्षणमा व्यापार सूचनामा सहज पहुँच, छिटो, छरितो र सस्तो भन्सार प्रक्रिया, भन्सारसम्बन्धीको छुट प्रक्रिया, विवाद समाधान गर्दाका निष्पक्षता, भन्सार छुटमा आयात गर्ने प्रक्रिया, आफ्नो सामानको प्रतिरक्षा गर्ने उपाय, भन्सार र सीमा एजेन्सी नियन्त्रण तथा प्रशासनलगायत विश्व व्यापार संगठन व्यापार सहजीकरण सहमतिका सन्दर्भ सूचीका सम्बन्धमा छलफल भएको थियो ।