वासिङटन । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले शुक्रबार बताएअनुसार अमेरिकामा २१ सहित विश्वभर मंकीपक्स संक्रमितको संख्या ७०० भन्दा बढी पुगेको अमेरिकी अनुसन्धानले देखाएको छ । पछिल्लो समय मंकीपक्स अमेरिकामा पनि फैलिइरहेको बताइएको छ ।
सीडीसीको एउटा नयाँ रिपोर्टअनुसार पहिलो १७ वटा घटनामध्ये १६ जना समलिंगी पुरुषसँग यौन सम्बन्ध राख्ने व्यक्ति रहेका र बाँकी १४ जना यात्रासित सम्बन्धित भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
सबै बिरामीहरू निको भइसकेका छन् वा निको हुने क्रममा छन् । तर, कुनै पनि संक्रमितलाई जटिल स्वास्थ्य समस्या देखिएको छैन ।
सीडीसीको ‘डिभिजन अफ हाई कन्सिक्वएन्स प्याथोजेन एन्ड प्याथोलोजी’का उपनिर्देशक जेनिफर म्याकक्विस्टनले सञ्चारकर्मीसँग भनिन्, “संयुक्त राज्य अमेरिकामा पनि केही घटनाहरू देखिएका छन् जसबारे हामीलाई पूर्ण जानकारी छ ।”
संयुक्त राज्य अमेरिकामा यात्रासम्बन्धी वा उनीहरू कसरी संक्रमित बने भन्ने जानकारी नभएको एउटा पनि घटना नभएको उनले बताइन् ।
मंकीपक्स एक दुर्लभ रोग हो । यो बिफरसँग सम्बन्धित तर बिफरभन्दा कम गम्भीर रोग हो । ज्वरो आउने, चिलाउने र दुख्नेजस्ता लक्षण देखा पर्छन् ।
साधारणतया पश्चिमी र मध्य अफ्रिकामा मात्र सीमित यो रोग (संक्रमण) मेदेखि युरोपमा पनि भेटिएको थियो । त्यस बेलादेखि प्रभावित देशहरूको संख्या बढेको छ ।
क्यानडाले शुक्रबार पनि नयाँ तथ्यांक जारी गर्दै कुल ७७ जनामा संक्रमण भएको पुष्टि गरेको छ । तीमध्ये प्रायः सबै क्युबेक प्रान्तमा पत्ता लागेका हुन् र त्यहाँ नियन्त्रणका लागि खोपहरू वितरण गरिएका छन् ।
यसको नयाँ फैलावट युरोपमा विशेष समलैंगिक पर्वहरूसँग सम्बन्धित हुन सक्ने भए तापनि मंकीपक्सलाई यौनजन्य रोग मानिएको छैन । यसको मुख्य जोखिम भनेको मंकीपक्स भएका व्यक्तिसँग छालादेखि छालाको नजिकको सम्पर्क हुनु हो । सबै घाउहरू सुकेर नयाँ छाला नबनेसम्म एक मानिसबाट अर्कोमा संक्रमण हुने सम्भावना रहन्छ । रासस/एएफपी