काठमाडौं । काठमाडौं नेकपा एमालेका सांसद गणेश पहाडीले मूल्यवृद्धिको छानबिन गर्न माग गरेका छन् । एमाले प्रमुख सचेत विशाल भट्टराईले संसद्मा पेश गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावलाई समर्थन गर्दै सांसद पहाडीले शक्तिशाली संसदीय समिति गठन गरी छानबिन र अध्ययन गर्न माग गरेका हुन् ।
“बजार अनुगमन नगर्दा खाद्य र गैरखाद्य वस्तुको मूल्य ह्वात्तै बढेको छ । त्यो घटाउन जरुरी छ,” उनले भने, “पेट्रोलियम पदार्थका साथै खाद्य र गैरखाद्य वस्तुको मूल्यवृद्धिको अध्ययन गर्न शक्तिशाली संसदीय समिति गठनको माग गर्छु ।”
उनले डिजेलको पाइपलाइन बनाउँदा चुहावट घटेको, ८० रुपैयाँ हुँदा र १८० रुपैयाँ मूल्य हुँदा पनि बिक्री कमिसन उही भन्दै त्यसलाई घटाएर मूल्य घटाउनुपर्ने बताए । त्यस्तै, पूर्वाधार कर घटाएर १०) रुपैयाँ मूल्य घटाए पनि अहिले अत्यधिक कर रहेकोले त्यहाँ पनि मूल्य घटाउन उनले बताए ।
“आयल निगमको प्रतिस्पर्धी संस्थाको रूपमा निजी क्षेत्र ल्याएर केही कमिसन लिएको र केही कमिसन लिन बाँकी रहेको भन्ने चर्चा छ । संसदीय समिति बनाएर छानबिनको माग गर्दछु,” उनले भने, “अहिले मूल्य वृद्धि गर्नुछ भने रातारात पेट्रोल पम्म खालि गरी ट्याङकरबाट तेल झारिन्छ, र त्यसपछि मूल्य बढ्ने र कमिसनको खेल हुने हल्ला छ, यसको छानबिन हुनुपर्छ ।”