जनकपुरधाम । सर्वोच्च अदालतले निजगढमा विमानस्थल बनाउन रोक लगाउनेगरी गरेको फैसलालाई लिएर मधेस प्रदेशका सांसदहरूले आपत्ति जनाएका छन् । बिहीबार प्रदेश सभाको बैठकमा सांसदहरूले अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै निजगढ विमानस्थल बन्नुपर्नेमा जोड दिएका हुन् ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का संसदीय दलका नेता जितेन्द्र सोनलले निजगढ विमानस्थल मधेसको आर्थिक, रोजगार, पर्यटन, गौरव र पहिचानसँग जोडिएको बताए । अदालतले मधेसको भावनाविपरीत निर्णय गरेको उनको ठहर छ ।
"चुरेमा बाटो बन्दा जंगल फडानी हुँदैन, चुरे उजाडिँदैन । विमानस्थल बनाउँदा चुरे मासिन्छ ? यो मधेससँग भएको विभेद हो । त्यसकारण प्रदेश सरकार यस्ता विभेदको विषयमा चुप लागेर हुँदैन," आक्रोशित हुँदै उनले भने ।
प्रदेश सरकारले यसबारे विकल्प खोज्नुपर्ने उनको भनाइ छ । प्रदेश प्रहरी ऐन कार्यान्वयनका लागि ल्याइएको संकल्प प्रस्तावजस्तै यसका लागि पनि कुनै प्रस्ताव ल्याउनुपर्ने उनले बताए । "संकल्प प्रस्ताव वा विशेष महत्वको प्रस्ताव वा कुनै पनि कुरा पारित गरेर हामीले निजगढ विमानस्थल बनाउनैपर्छ," उनले भने ।
उद्योग पर्यटन तथा वनमन्त्री शत्रुधन महतोले पनि अदालतले गलत फैसला गरेको बताए । निजगढमा विमानस्थल बनाउन सरकार पनि अगाडि बढ्नुपर्ने उनले बताए ।
"विमानस्थल बन्दा रुख काटिन्छ । त्यसको हामी विकल्प खोजौँला, जति रुख काटिन्छ, त्यति रुख रोप्छौँ । तर, विमानस्थल नबन्ने प्रोपोगान्डा नहोस्," उनले भने ।
यस्तै, नेकपा (माओवादी केन्द्र)का सांसद दिलिपकुमार साहले पनि मधेससँग कुठराघात भएको बताए । निजगढ विमानस्थल निर्माणप्रति सर्वोच्चको निर्णयमा उनले पनि आपत्ति जनाए । निजगढ विमानस्थल जसरी पनि निर्णमा हुनुपर्ने उनको धारणा छ ।