काठमाडौं । पाँच डीआईजीलाई एआईजी बढुवामा सिफारिस गरिएपछि नेपाल प्रहरीमा १७ डीआईजीको दरबन्दी रिक्त छ । रिक्त १७ पदका लागि २७ एसएसपी प्रतिस्पर्धामा छन् ।
२७ एसएसपीमा चार महिला प्रहरी अधिकृत पनि छन् । एआईजी बढुवाबारे मन्त्रिपरिषद्ले निर्णय गरेपछि डीआईजी बढुवाको प्रक्रिया अगाडि बढ्नेछ ।
अहिले नेपाल प्रहरीमा डीआईजीहरू तीनजना मात्र कार्यरत छन् । उनीहरू बहालवाला आईजीपी धीरजप्रताप सिंहका ब्याची हुन् ।
अहिले प्रदेश प्रहरीको नेतृत्व डीआईजीले गर्दै आएका छन् । त्यसैले छिटो डीआईजी बढुवा गर्नुपर्ने दबाब छ । १७ डीआईजीका लागि दुई ब्याचका एसएसपीहरू प्रतिस्पर्धामा छन् । बढुवामा पर्ने शक्तिकेन्द्र धाउन थालेका छन् । यसबाहेक उनीहरूले विभिन्न सम्पर्कसूत्र समेत प्रयोग गरिरहेका छन् ।
को–को छन् डीआईजीको प्रतिस्पर्धामा ?
डीआईजीको प्रतिस्पर्धामा एसएसपीहरू उमेशराज जोशी, रामदत्त जोशी, सन्दीप भण्डारी, टेकप्रसाद राई, श्यामलाल ज्ञवाली, दीपक थापा, मीरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, सुदीप गिरी, दुर्गा सिंह, टेकबहादुर तामाङ, वसन्तबहादुर कुँवर, भीमप्रसाद ढकाल छन् ।
यस्तै, एसएसपीहरू जनक भट्टराई, विष्णुकुमार केसी, भरतबहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, अशोक सिंह, रवीन्द्र केसी, राजेशनाथ बाँस्तोला, किरण राणा, लालमणि आचार्य, यज्ञविनोद पोखरेल र चन्द्रकुवेर खापुङ पनि डीआईजीको प्रतिस्पर्धामा छन् ।
महिला एसएसपीलाई इतिहास रच्ने अवसर
योपटक डीआईजीको प्रतिस्पर्धामा चार महिला एसएसपी पनि छन् । जसलाई इतिहास रच्ने अवसर छ । ०५१ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका किरण बज्राचार्य, मीरा चौधरी, दुर्गा सिंह र किरण राना डीआईजीको प्रतिस्पर्धामा छन् ।
उनीहरू चारैजनाको डीआईजी बन्ने सम्भावना छ । सरकारले चारैजनालाई डीआईजीमा बढुवा गरे नेपाल प्रहरीमा इतिहास कायम हुनेछ ।
प्रहरीमा हालसम्म एकैपटक दुईजना महिला अधिकृत मात्र डीआईजी बनेका छन् । यसअघि, पार्वती थापा र विमला थापा एकसाथ डीआईजी भएका थिए । अहिले चारजना डीआईजी भएमा प्रहरीमा नयाँ इतिहास बन्नेछ । प्रहरीमा हालसम्म महिला आईजीपी नियुक्त भएका छैनन् ।
डीआईजी पूजा सिंह अहिले एआईजी बढुवा सिफारिसमा परेकी छन् । अहिले डीआईजी बन्ने ब्याचबाटै सिंहपछि आईजीपी बन्ने अवसर प्राप्त गर्नेछन् ।