काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आउँदो संसदीय चुनावमा पनि सहकार्य गरेर मात्र पार्टीले चुनाव लड्ने बताएका छन् । उनले संसदीय चुनावमा देशभर चुनावी सहकार्य नगर्ने भन्दै केही सीमित जिल्लामा सम्मानजनक सिटका साथ चुनावी सहकार्य हुने बताए ।
बुधबार हेटौडामा वागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले स्थानीय चुनावमा पनि एमालेसँग सहकार्य गरेकाले अलि सजिलो उसँगै हुने बताए । साथै, सम्मानजनक सिट पाए कांग्रेसलगायत दलसँग पनि चुनावी तालमेल गर्न असहज नहुने तर्क उनको थियो ।
“एक्लै चुनाव लड्ने अवस्था हुँदैन । तालमेल गर्ने जुन् पार्टीले सम्मानजनक स्थान दिन्छ त्यहीँ पार्टीसँग मात्र हामी सहकार्य गर्छाैं,” उनले भने,“कांग्रेससँग पनि सहकार्यको ढोका खुल्ला छ । एमालेसँग हिजो पनि सहकार्य भयो हामीले गुन लगाएका छौँ । एमालेसँग सहकार्य गर्ने र मिलेर जाने संभावना बढी छ । तर, अहिले टुंगो लागिसकेको छैन ।”
उनले गएको स्थानीय चुनावलाई पार्टी निर्माण चरणमै भएकाले महत्त्व धेरै दिन नसकिए पनि २ दर्जन हाराहारीमा सदस्य पदमै विजयी हुनु पनि उपलव्धी भएको तर्क गरे । “पार्टी भर्खरै स्थापना भएको थियो । तलसम्मै संगठन फैलिसकेको थिएन । चुनाव चिह्नको अलमल थियो,” उनले भने,“भोट जति आएपनि हामीले चिन्ता गरेनौँ । स्वस्फूर्त रुपमा साथीहरुले निर्वाचनमा भाग लिनुभयो । केही पालिकाहरुमा सदस्य मात्रै भएन पनि २ दर्जन साथीहरु निर्वाचित हुनुभयो ।”
थापाले पार्टी स्थापना भएको तीन महिनामै जिल्ला कार्यसमिति, प्रदेशस्तरीय कार्यसमिति, आधा दर्जन भातृ संस्था गठन भएर क्रियाशील हुनु महत्त्वपूर्ण उपलब्धिको रूपमा आफूले लिएको बताए ।