बुटवल । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले जनताले गणतन्त्रको अनुभूति गराउनको लागि सामाजिक न्यायसहितको समृद्ध प्रदेश बनाउन सक्नुपर्ने बताएका छन् । लुम्बिनी प्रदेश सरकारले आइतबार बुटवलमा आयोजना गरेको १५औँ गणतन्त्र मूल समारोह समितिमा मुख्यमन्त्री केसीले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल प्राप्ति सामान्य नभएर युगान्तकारी परिवर्तन र ऐतिहासिक घटनाक्रम भएकाले सर्वसाधारणले यसबाट परिवर्तन महसुस गर्नुपर्ने बताए ।
मुख्यमन्त्री केसीले लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालाई अझ बढी संस्थागत गर्नुपर्नेमा जोड दिए । उनले वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिकलगायत सबै प्रकारको विभेद र उत्पीडन अन्त्य गर्न प्रदेश सरकार योजनागत कार्यक्रम लिएर अगाडि बढेको बताए ।
मुख्यमन्त्री केसीले नेपालको संविधानले मौलिक हकका रूपमा व्यवस्था गरेका शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा, खानेपानी, सरसफाइ, वातावरण संरक्षणलगायत आधारभूत अधिकारलाई व्यावहारिकरूपमा कार्यान्वयन गर्दै नागरिकको जीवनस्तर फेर्ने गरी काम गर्न जरुरी रहेको बताए । “नागरिकको महत्त्वपूर्ण त्याग, तपस्या र बलिदानबाट मात्रै सम्भव भएको हो । सबैको मिहिनेत, योगदानबाट आएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझै बलियो र मजबुत बनाउँदै लैजानुपर्नेछ,” उनले भने, ‘सबैको पहुँचमा विकास पुर्याउनुपर्ने छ ।’
गणतन्त्र दिवसमा आएनन् मन्त्री र सांसद
बितेका दुई वर्ष कोरोना महामारीका कारणले विशेष तरिकाले मनाउन नपाएको लुम्बिनी प्रदेश सरकारले गणतन्त्र दिवस विशेष तरिकाले मनाउने तयारी गरेको थियो । पाँच दलीय गठबन्धनमा बनेको यो सरकारको पहिलो यस्तो ठूलो कार्यक्रम आयोजना भएको थियो ।
आइतबार प्रदेश सरकारले विशेष तामझामका साथ १५औँ गणतन्त्र दिवस मनाइरहँदा सरकारका बहुसंख्यक मन्त्री तथा सांसदहरू भने त्यो औपचारिक कार्यक्रममा आफ्नो सहभागिता देखाएनन् । बहुसंख्यक मन्त्री तथा सांसदहरू सहभागी नभएको त्यो कार्यक्रमका प्रमुख अतिथि निम्त्याइएका प्रदेश प्रमुख पनि जान सकेनन् ।
बुटवलको दीपनगरस्थित सिद्धेश्वरीे खेलमैदानमा आयोजना गरिएको मूल समारोहमा प्रमुख अतिथि प्रदेश प्रमुख अमिक शेरचन बिरामी परेका कारण सहभागी हुन नपाएको जानकारी दिइए पनि प्रदेश सरकारका १७ मन्त्रीमध्ये ३ जना मन्त्री मात्रै सहभागी भए अरू मन्त्री किन सहभागी भएनन् कसैले पत्तो पाएनन् । कार्यक्रममा सभामुख, उपसभामुख तथा प्रदेश सभा सदस्यहरू भोजप्रसाद श्रेष्ठ र तुलाराम घर्ती मात्रै सहभागी भएका थिए ।
आइतबार बिहानैदेखि मौसमको प्रतिकूलतका बाबजुत सर्वसाधारणको उत्साहजनक सहभागिता रहँदा प्रमुख अतिथि, प्रदेशका मन्त्रीहरू भने गणतन्त्र दिवस मनाउन किन आएनन्, कार्यक्रमस्थल किन व्यवस्थित भएन भनेर सहभागीले एक–आपसमा प्रश्न गरिरहेका थिए । मञ्चमा मन्त्रीहरूका लागि राखिएका कुर्सीहरू रित्तै रहेको देख्दा कार्यक्रम नै खल्लो भएको विभिन्न संघ–संस्थाबाट सहभागीले जनाएका छन् ।
दुई दिनअघि नै यो कार्यक्रमको व्यवस्थापन गरेको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले अहिलेको कार्यक्रमलाई विशेष तरिकाले गर्न लागिएको र तयारी राम्रो गरी भएको जानकारी दिएका थिए । मन्त्रालयले सबै मन्त्रीहरूलाई निमन्त्रणा गरेको र समारोह मनाउने सन्दर्भमा मुख्यमन्त्री कार्यालयमै छलफल भएको भए पनि मन्त्रीहरूले गणतन्त्र दिवस मनाउन किन चासो दिएनन् भन्ने विषय सहभागीले उठाइरहे ।
१७ जना मन्त्री रहेको सरकारका आन्तरिक मामिला मन्त्री तिलकराम शर्मा, कानुन महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री रमा घर्ती, शिक्षा विज्ञान युवा तथा खेलकुदमन्त्री बसिउद्धिन खाँ मात्रै सहभागी रहेका थिए । कार्यक्रममा अधिकांश नगरपालिकका प्रमुख तथा उपप्रमुखहरू, विभिन्न सामाजिक संघसंस्था तथा विद्यालयका शिक्षक विद्यार्थी तथा पुस्कृत व्यक्तित्वहरू सहभागी रहेका थिए । कार्यक्रममा सहभागिता नभएको बारे अधिकांश मन्त्रीहरूले तयारी जवाफ दिएका छन्, “मौसम यस्तै पर्यो ।”