काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाको नगर कार्यपालिका सदस्यमा पाँच महिला निर्विरोध निर्वाचित भएका छन् ।
काठमाडौंको उत्तरी क्षेत्रमा रहेको बूढानीलकण्ठमा गएको वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएसँगै शनिबार सम्पन्न गरिएको नगर कार्यपालिका सदस्य निर्वाचनमा पाँच महिला प्रतिनिधि निर्विरोध निर्वाचित भएका हुन् । नगरपालिकाका निर्वाचन अधिकृत चमिला भट्टराईले पाँच महिला सदस्य निर्विरोध निर्वाचित भए पनि तीन दलित तथा अल्पसंख्यक सदस्यका लागि भने निर्वाचन हुन लागेको जानकारी दिइन् ।
उनका अनुसार निर्विरोध निर्वाचित हुने पाँच महिला सदस्यमा नेकपा (एमाले)का उमेदवार रीता दाहाल, रीना श्रेष्ठ, शान्ता ढकाल (पुडासैनी), राममाया महर्जन र गोमा मग्रांन्ती रहेका छन् । यस्तै, तीन दलित एवं अल्पसंख्यक सदस्यका लागि चारजनाको उमेदवारी परेकाले निर्वाचन हुन लागेको निर्वाचन अधिकृत भट्टराईले बताइन् ।
अन्तिम मत परिणाम आएको तीन दिनभित्र कार्यपालिकाको निर्वाचन कार्यतालिका सार्वजनिक गर्नुपर्ने र १५ दिनभित्र निर्वाचन सम्पन्न गरिसक्ने गाउँ तथा नगर कार्यपालिका सदस्य निर्वाचन निर्देशिका–२०७८ मा व्यवस्था रहेको छ ।
वैशाख ३० गते सम्पन्न निर्वाचनमा बूढानीलकण्ठ नगरपालिकाको प्रमुखमा एमालेका उमेदवार मिठाराम अधिकारी र उपप्रमुखमा पनि एमालेकै उमेदवार अनिता लामा विजयी भएका थिए । यस्तै, बूढानीलकण्ठका अधिकांश वडामा पनि एमालेका उमेदवार विजयी भएका थिए । बूढानीलकण्ठमा १३ वडा छन् । रासस