काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष गणेश थापाले बिहीबार वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई कारबाहीको माग गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा निवेदन दिएका छन् ।
पूर्व अध्यक्ष थापाले आफ्नो चरित्र हत्या गर्ने उद्देश्यसहित शेर्पाले विभिन्न अफवाह फैलाएको आरोप लगाउँदै आएका छन् । थापाले वैशाख २८ गते पत्रकार सम्मेलन गरी शेर्पालाई आफूमाथि लगाएको आरोप पुष्टि गर्न चुनौती दिएका थिए ।
थापाले आज भने राखेपका सदस्यसचिव टंकलाल घिसिङसमक्ष शेर्पालाई कारबाहीको माग गर्दै निवेदन बुझाएका हुन् ।
“एन्फाका वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाविरुद्ध एन्फा विधानको धारा ८ तथा फिफा कोड अफ इथिक्सको बुँदा नम्बर ३ बमोजिम कारबाहीको माग गर्दै राखेपका सदस्य सचिवज्यूसमक्ष निवेदन चढाएको छु,” थापाले भनेका छन् ।
थापाले चरित्र हत्या गर्ने उद्देश्यले लगाइएका झुट्ठा र काल्पनिक आरोपहरूको विषयमा गम्भीर रूपमा छानबिन भई सत्य तथ्य बेहोरा र वास्तविकता सार्वजनिक गर्न आवश्यक रहेको बताएका छन् ।