site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पहिलो क्वालिफायरमा जनकपुरले सुदूरपश्चिमलाई दियो १४० रनको लक्ष्य 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससामु जनकपुर बोल्ट्सले १४० रनको लक्ष्य प्रस्तुत गरेको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको जनकपुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३९ रन बनाएको हो ।

जनकपुरका जिम्मी निसमले सर्वाधिक ४५ रन बनाए । अर्धशतकबाट पाँच रनले चुकेका निसमले २३ बलमा तीन चौका र तीन छक्का प्रहार गरे । निसमलाई १९औँ ओभरको चौथो बलमा स्कट कुग्गेलेनले बोल्ड गरे ।

शुभ कंसाकारले २४ बलमा चार चौकासहित २६ रन जोडे । शुभलाई नवौँ ओभरको अन्तिम बलमा दीपेन्द्रसिंह ऐरीले रनआउट गरेका थिए ।

ओपरन लहिरु मिलान्थाले १२ रन थप्दा कप्तान आसिफ शेख र अरनिको यादवले समान ११ रन बनाए । नियमित कप्तान अनिल साह हातमा लागेको चोटका कारण खेल्न नसक्ने हुँदा आसिफले कप्तानको जिम्मेवारी पाएका हुन् ।

शेर मल्लले दुई तीन बलमा तीन रन थपे । आकाश त्रिपाठी चार रनमा अविजित रहे । किशोर महतोले दुई रन जोडे ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिए । सैब जैबले दुई विकेट लिए । दीपेन्द्रले जनकपुरका ओपनर लहिरु मिलान्था, अरनिको यादव र मोहसिन मोहमदको विकेट लिएका हुन् । जैबले आसिफ शेख र हर्ष थाकेरको विकेट लिए ।

स्कट कुग्गेलेन र अभिनाश बोहराले समान एक विकेट लिए । कुग्गेलेन निसमलाई पभेलियनको दिशा देखाएका थिए । अभिनाशले शेर मल्ललाई ब्रान्डन म्याकमुलमबाट क्याच गराए ।

यी दुई टिमबीच लिग चरणमा भएको खेलमा सुदूरपश्चिमले जनकपुरविरुद्ध ७२ रनको सहज जित निकालेको थियो ।

लिग चरणमा शीर्ष स्थान हासिल गरेको सुदूरपश्चिमले सात खेलबाट १२ अंक जोेडेको थियो । समान खेलबाट १० अंक जोडेको जनकपुर दोस्रो स्थानमा रहँदै प्लेअफमा आइपुगेको हो ।

आजको खेलमा जित निकाल्ने टिमले सोझै फाइनल यात्रा तय गर्नेछ । पराजित हुने टिमले भने इलिमिनेटर विजेता कर्णाली याक्ससँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  १४:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro