वीरगन्ज । वीरगन्ज महानगरपालिकाका निवर्तमान मेयर विजय कुमार सरावगीले एमालेमा प्रवेश गराएका दुवै निवर्तमान वडाअध्यक्ष पराजित भएका छन् ।
गत निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट चुनाव जितेका सरावगीसँगै वीरगन्ज महानगरपालिका वडा नम्बर २५ र २८ का वडाअध्यक्ष पराजित भएका हुन् । वडा नम्बर २५ का विसराज राउत कुर्मी र २८ की गृजा देवी पराजित भएका हुन् ।
गत निर्वाचनमा ६ सय ४३ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएका वडा नम्बर २५ का विसराज यसपटक नेकपा (एमाले)बाट चुनाव लडेर पराजित भएका छन् । वडा नम्बर २५ मा जसपाबाट चुनाव लडेको आशुतोष चर्तुवेदीसँग कुर्मी ५५ मतले पराजित भएका हुन् । गत निर्वाचनमा नेपाल लोकतान्त्रिक फोरमबाट चुनाव लडेर ५ सय ७० मत पाएका चर्तुवेदी यसपटक जसपाबाट वडाअध्यक्षमा निर्वाचित भएका छन् ।
यस्तै वडा नम्बर २८ की गृजा देवी जसपाका सर्युग महतो धानुकसँग २ सय ५४ मतान्तरले पराजित भएकी छन् । गत निर्वाचनमा १ हजार ३ सय २८ मतले निर्वाचित भएकी गृजादेवीलाई उनकै प्रतिद्वन्दी धानुकले पराजित गरेका हुन् । २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट चुनाव लडेका धानुक गृजादेवीसँग १६ मतले पराजित भएका थिए । गृजा देवी उनका पति जयनारायण सिंह कुर्मीको निर्देशनबमोजिम चल्ने गरेको बताइन्छ । कुर्मी पनि सरावगीको निर्देशनअनुसार एमालेमा प्रवेश गरेका हुन् ।
वीरगञ्ज महानगरपालिकाका निवर्तमान मेयर सरावगीले जसपा परित्याग गरेर एमाले प्रवेश गरेसँगै उनले जसपाबाट चुनाव जितेका सबै वडाअध्यक्षलाई एमाले प्रवेश गराउने दाबी गरेपनि २ जनालाई मात्रै प्रवेश गराएका थिए । यद्यपि एमालेमा गएपनि दुवै जना पराजित भएपछि अहिले पश्चाताप गरिरहेको बताइएको छ ।