कञ्चनपुर । स्थानीय तहको निर्वाचनअन्तर्गत कञ्चनपुरका केही पालिकामा राति अबेरदेखि मतगणनाकार्य सुरु भएको छ । केहीमा आजदेखि मतगणना हुने भएको छ ।
लालझाडी, बेलौरी, बेलडाँडी, दोधारा–चाँदनीमा मतगणना सुरु भएको छ । लालझाडी गाउँपालिका–६ मा नेपाली कांग्रेसका हर्कनारायण जोशी प्यानलसहित विजयी भएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार जोशीले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का फूलाराम चौधरीलाई ११५ मतको अन्तरले हराउँदै वडाध्यक्षमा निर्वाचित भएका छन् । नवनिर्वाचित वडाध्यक्ष जोशीले ४६४, चौधरीले ३४९ र नेकपा (एमाले)का उमेदवार जीतबहादुर चौधरीले २६६ मत प्राप्त गरेका छन् ।
यसैगरी, बेलौरी नगरपालिकाको प्रारम्भिक मत परिणामअनुसार ८८३ मतगणना हुँदा नेकपा (माओवादी केन्द्र)का नगर प्रमुख पदका उमेदवार पोतिलाल चौधरीले ३८९, कांग्रेसका हरेन्द्रसिंह विष्टले २४९ र एमालेका कमला बोहराले २४५ मत प्राप्त गरेका छन् । मतगणना भइरहेका अन्य पालिकाको मतपरिणाम आउन बाँकी छ । रासस