किभ । रुसले आफूमाथि गत २४ फ्रेब्रुअरीमा आक्रमण शुरु गरेयता युक्रेनले पहिलो पटक युद्ध अपराध मुद्दा सुरु गरेको छ । एक निहत्था सर्वसाधारणको हत्या गरेको अभियोगमा २१ वर्षिय सैनिकलाई अदालतमा उभ्याइएको छ ।
भादिम सिसिमारिन नामक ती सैनिक किभमा सुरु भएको प्रारम्भिक सुनुवाइको दौरान अदालतमा उपस्थित भएका हुन् । यदि, अभियोग प्रमाणित भएको खण्डमा उनलाई आजन्म कारवास सजाय हुनेछ ।
युक्रेनले आफूले रुसी फौजबाट भएका हजारौं सम्भावित युद्ध अपराध फेला पारेको दाबी गरेको छ । रुसले आक्रमणको दौरान सर्वसाधारणलाई लक्षित नगरेको बताएको छ भने यस मुद्दाबारे कुनै टिप्पणी गरेको छैन ।
“चोरिएको सवारी साधनमा सिसिमारिन अन्य सेनासँग उत्तरपूर्वी सुमी क्षेत्रमा यात्रामा रहेकाबेला तिनीहरू फोन गरिरहेका एक ६२ वर्षिय साइकल चालकलाई भेटेका थिए,” वकिलहले भनेका छन्, “ती वृद्धले युक्रेनी फौजलाई तिनीहरूको लोकेसनकाबारे खबर गर्नबाट रोक्न सिसिमारिनलाई वृद्धमाथि गोली चलाउने आदेश दिइएको थियो ।”
तर, युक्रेनी सूत्रले उनी कसरी पक्राउ परे वा उनी विरुद्धको प्रमाणको स्वरुपबारे केही बताएको छैन । रुसी नियन्त्रणमा रहेका विभिन्न युक्रेनी क्षेत्रमा सयौं सर्वसाधारणका शव फेला परिसकेको छ । बीबीसी