काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको तालिका सार्वजनिक गरिएको छ । बिहीबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा भारतीय प्रधानमन्त्री लुम्बिनी भ्रमणका लागि आउन लागेको जनाएको छ ।
यो प्रधानमन्त्री मोदीको पहिलो लुम्बिनी भ्रमण हुनेछ । बुद्धजयन्तीका अवसरमा लुम्बिनीमा हुने विशेष समारोहमा प्रधानमन्त्री देउवासँगै प्रधानमन्त्री मोदी सहभागी हुने मन्त्रालयले जनाएको छ ।
लुम्बिनी भ्रमणका क्रममा प्रधानमन्त्री देउवासँगै उनका समकक्षी मोदीले मायादेवी मन्दिरमा पूजाअर्चना गर्ने, लुम्बिनीको विहार क्षेत्रमा बौद्ध संस्कृति तथा सम्पदा केन्द्रको शिलान्यास गर्ने र विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र र सभाहलमा बुद्धजयन्ती मनाउने तयारी भइरहेको छ ।
प्रधानमन्त्री मोदीलाई मायादेवी मन्दिर परिसरमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले स्वागत र शिष्टाचार भेट गर्नेछन् । त्यसपछि दुवै प्रधानमन्त्रीले नेपाल–भारत सहयोग र आपसी हितका विषयमा द्विपक्षीय वार्ता गर्ने जनाइएको छ ।
प्रधानमन्त्री देउवाले भारतका प्रधानमन्त्री र भ्रमण दलमा रहेका प्रतिनिधिमण्डलको सम्मानमा लुम्बिनीमै दिवाभोजको आयोजना गर्नेछन् ।
प्रधानमन्त्री मोदीको यो पाँचौँ नेपाल भ्रमण हुनेछ । लुम्बिनी भने उनको भ्रमण पहिलो हो ।