विराटनगर । सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मतदातालाई मतदान गर्ने मेसिनको रूपमा हेर्न नहुने बताएका छन् ।
धरानमा आयोजित चुनावी सभामा बोल्दै कार्कीले भने, “मतदातालाई मत दिने मेसिनको रूपमा मात्रै हेर्ने गर्नाले राजनीतिप्रति आम मानिसको विश्वास गुम्दै गएको छ ।” उनले धरानको नेतृत्वमा किशोर राई र अईन्द्र विक्रम बेघाको विकल्प नभएको जिकिर गर्दै गठबन्धन समृद्धिका लागि बनेको बताए ।
अब कस्तो धरान बनाउने र कस्ता नेतृत्वलाई रोज्ने भन्ने निष्कर्ष धरानका जनताले नै गर्नुपर्ने भन्दै मन्त्री कार्कीले जनप्रतिनिधिले जनताको चाहनाअनुरूपका विकास अघि बढाउनु पर्ने सुझाव दिए । “धरान नेपालको ऐतिहासिक थलो हो । एमालेलाई धरानका जनताले धेरै पटक निर्वाचित गराए तर धरान जस्ताको त्यस्तै रहन गयो,” कार्कीको भनाइ थियो ।
अब धरानको विकास गठबन्धनका विजयी उमेदवारले मात्र गर्न सक्ने दाबी गर्दै कार्कीले जातीय तथा संस्कृतिको सभ्यता जोडिएर मात्र धरान सुन्दर नगरी भएको बताए । उपनिर्वाचनपछि कांग्रेसबाट जितेका मेयर तिलक दुई वर्षको अवधिमा निकै राम्रो काम गरेको कार्कीले बताए ।