मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी फौज आफ्नो मातृभूमिको भविष्यका लागि युक्रेनमा युद्ध लडिरहेको बताएका छन् । दोश्रो विश्व युद्धमा नाजी जर्मनीमाथि विजय हासिल गरेको स्मरणमा आयोजित वार्षिक कार्यक्रमलाई सम्बोधन गर्दै पुटिनले सो अभिव्यक्ति दिएका हुन् ।
यस सम्बोधनमा ठूलो कुराको घोषणा हुनसक्ने धेरै हल्ला चलेपनि उनले भाषणलाई विशेष गरी युक्रेनमाथि रुसी आक्रमणको बचाउमा खर्चेका छन् । उनले युक्रेनको युद्धलाई सन् १९४५ को दोश्रो विश्व युद्धको जितसँग जोडेका छन् । साथै, उनले पश्चिममा जगत् र उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) लाई सुरक्षा मागहरू अस्वीकार गरेको दोष पनि लगाएका छन् ।
झण्डै दस साता लामो युद्धमा सर्वसाधारणहरू मारिने क्रम जारी रहेको छ । पछिल्लो समयमा रुसी फौजले पुर्वी सहर बिलोहोरिभ्कास्थित एउटा विद्यालयमा बमबारी गर्दा करिब ६० जना सर्वसाधारण मारिएको आशंका गरिएको छ ।
उनीहरू बमबारीबाट बच्नकै लागि सो विद्यालयको भूमिगत तलामा शरण लिएर बसेका थिए । पुटिनले युक्रेनीहरूलाई फासीवादीको संज्ञा दिँदै किभको प्रजातान्त्रिक सरकार नव–नाजीहरूबाट सञ्चालित भएको दोहो¥याएका छन् ।
पुटिनले रुसी फौजले तीव्र गतिमा आक्रमण गर्दै आएको पूर्वी युक्रेनी क्षेत्रलाई इंगित गर्दै भने, “मातृभूमिको रक्षा गर्नु सदैव पवित्र काम रहँदै आएको छ । आज तपाईंहरू दोन्बासमा रहेका हाम्रा मानिसका लागि––रुस––हाम्रो मातृभूमिको सुरक्षाका लडिरहनुभएको छ ।” साथै, उनले नेटो विभिन्न बहाना बनाएर रुसमा घुसपैठ गर्न खोजिरहेको आरोप पनि लगाएका छन् ।
युक्रेनी राष्ट्रपति कार्यालयका अधिकारी मिखाइलो पादोलियाकले ट्विटरमार्फत भनेका छन्, “युद्धका लागि खासै तर्कपूर्ण आधारहरू छैनन् । नेटो सदस्य राष्ट्रहरूले रुसमाथि आक्रमण गर्न गइरहेका थिएनन् । युक्रेनको पनि क्रिमियामाथि हमला गर्ने कुनै योजना थिएन ।”
बीबीसीबाट ।