काठमाडौं । डेभोन कोनवेको ८७ रनप्रेरित चेन्नई सुपर किंग्सले आइतबार राति इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सलाई ९१ रनले हराएको छ ।
मुम्बईस्थित डा. डीवाई पाटिल स्पोटर््स एकेडेमीको मैदानमा टस हारेर ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०८ रन बनाएको थियो । २०९ रनको लक्ष्य पछ्याएको दिल्लीले १७.४ ओभरमा सबै विकेट गुमाएर ११७ रन मात्र बनाउन सक्यो ।
जारी सिजन चेन्नईको यो चौथो जित हो । चेन्नईले ११ खेलबाट ८ अंक जोडेको छ । जुन पुछारबाट तेस्रो स्थानमा हो । समान खेलबाट १० अंक जोडेको दिल्ली पाँचौं स्थानमा छ ।
चेन्नईका कोनवेले ४९ बलमा सात चौका र पाँच छक्कासहित ८७ रन बनाए । रितुराज गाइकवाडले ३३ बलमा ४१ रन बनाए । शिबम दुबेले ३२ रन बनाए । महेन्द्रसिंह धोनीले अविजित ८ बलमा २१ रन बनाए । दिल्लीका एनरिच नोर्टजेले तीन विकेट लिए भने खालीद अहमदले दुई विकेट लिए । मिचेल मार्शले एक विकेट लिए ।
२०९ रनको लक्ष्य पछ्याएको दिल्लीका लागि मिचेल मार्शले सबैभन्दा धेरै २५ रन बनाए । शार्दुल ठाकुरले २४, रिशब पन्तले २१ र डेबिड वार्नरले १९ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
चेन्नईका मोइन अलीले तीन विकेट लिए भने मुकेश चौधरी, ड्वानी ब्राभो र सिमरजीत सिंहले समान दुई विकेट लिए । महिश थिकशानाले एक विकेट लिए ।
आइतरबार नै सम्पन्न पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले सनराइजर्स हैहरावादलाई ६७ ले हरायो । मुम्बईको वाङ्खडे रंगशालामा टस जितेर ब्याटिङ गरेको बैंगलोरले तीन विकेट गुमाएर १९२ रन बनाएको थियो । १९३ रनको लक्ष्य पछ्याएको हैदरावादले १९.२ ओभरमा सबै विकेट गुमाएर १२५ रनमात्र बनाउन सक्यो ।
१२ खेलबाट १४ अंक जोडेको बैंगलोर चौथो स्थानमा छ । हैदरावाद भने ११ खेलबाट १० जोड्दै छैटौं स्थानमा छ ।