site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
विराटनगरमा गठबन्धनको विषयमा भ्रममा नपर्न नेताहरूको आग्रह
Siddhartha BankSiddhartha Bank

विराटनगर । पाँच दलीय गठबन्धनका नेताहरूले विराटनगर महानगरपालिकामा गठबन्धनबाट मेयरका उमेदवार नागेश कोइराला र उपमेयर अमरेन्द्र यादवको जित सुनिश्चित भइसकेको बताएका छन् । 

नेपाली कांग्रेस महानगर समितिले आयोजना गरेको पत्रकारहरूसँगको छलफलमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीका नेताहरूले गठबन्धनको जित सुनिश्चित भइसकेको बताएका हुन् । छलफलमा कांग्रेस नेतृ डा. डिला संग्रौलाले विराटनगरमा गठबन्धन एकढिक्का रहेको बताइन् । “हिजोअस्ति के थियो, के भयो त्यतातिर नजाऔं अब विराटनगरका सन्दर्भमा गठबन्धन एकढिक्का भएको छ,” उनले भनिन्, “यो मञ्चमा गठबन्धनका सबै नेता उपस्थिति हुनुले नै जित निश्चित भइसकेको छ ।” 

प्रदेश–१ का स्वास्थ्यमन्त्रीसमेत रहेका जसपाका केन्द्रीय सदस्य जयराम यादवले आफू कमजोर भएपछि विपक्षीहरूले गठबन्धनका विषयमा बाहिर विभिन्न हल्ला फिँजाएको बताए । उनले विराटनगरमा गठबन्धनको शानदार जित हुने दाबी गरे । “विराटनगरमा हामीले जितिसक्यौं भन्दा हुन्छ, हाम्रो पक्षमा माहोल देखेर विपक्षीहरूले विभिन्न हल्ला फिँजाइरहेका छन् त्यसमा सबै सजग हुनुपर्छ,” यादवले भने, “उखान टुक्काका भरमा देश चलाउँछु भन्नेहरूको सातो गइसकेको छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

 यादवले मेयरमा नागेश कोइराला र उपमेयरमा अमरेन्द्र यादवको उमेदवारीले समुदायबीचको अन्तरघुलनलाई अझै बलियो बनाएको सुनाए । उनले थपे, “यो गठबन्धनले पहाडे र मधेसी समुदायबीचको एकतासँगै अन्तरघुलनलाई थप मलजल गरेको छ । विराटनगरको उत्तर र दक्षिणलाई साँच्चिकै जोडेको छ । व्याकुल माइलाले लेखेको सयौं थुङ्गा फूलका हामी एउटै माला नेपाली राष्ट्रिय गीतले भनेझैं साँच्चै नै एउटै माला भएको छ ।”

कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले यो गठबन्धन प्रदेश र संघीय निर्वाचनसम्मै रहने बताए । उनले दीर्घकालीन सोच र योजनाका साथ गठबन्धन गरिएकाले सबै इमान्दार हुनुपर्नेमा जोड दिए । “यो गठबन्धन स्थानीय तहसम्म मात्रै होइन प्रदेश र संघीय निर्वाचनसम्मै रहन्छ,” उनले थपे, “त्यसो भएकाले गठबन्धनप्रति सबै इमान्दार हुुनुपर्छ । यदि इमान्दार भइएन भने फेरि पनि एमालेको हातमा सत्ता जान्छ र मुलुक अस्थिरताको भुमरीमा फस्छ ।”
 
नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य महेश रेग्मीले आफूहरू गठबन्धनप्रति पूर्ण जिम्मेवार रहेको बताए । उनले मुलुकलाई स्थायित्व, विकास र समृद्धिका लागि गठबन्धन भएकाले सबै इमान्दार हुनुपर्नेमा जोड दिए । उनले गठबन्धनका उमेदवार जिताउन समाजवादी लागिपरेको सुनाए । “केन्द्रको निर्णयलाई हामी पूर्ण रुपमा मान्छौं,” उनले भने, “मेयरमा नागेश कोइराला र उपमेयरमा अमरेन्द्र यादवलाई भोट हाल्छौं गठबन्धनप्रति हामीमा आशंका नगर्दा हुन्छ ।” उनले अझै पनि समय भएकाले वडाहरूमा पनि तालमेल मिलाउनुपर्नेमा जोड दिए ।  

Global Ime bank

कार्यक्रममा कांग्रेस सदस्यसमेत रहेका विराटनगर महानगरपालिकाका निवर्तमान मेयर भीम पराजुलीले गठबन्धनको जित सुनिश्चित रहेको सुनाए । “विराटनगर कांग्रेस एक्लै लड्दा पनि जित्ने ठाउँ हो, यो विराटनगर कांग्रेसको गढ पनि हो । झन् यसपटक जसपासित तालमेल भएको छ । यस्तो अवस्थामा पनि चुनाव जित्न सकिएन भने कस्तो अवस्थामा जितिएला ?” पराजुलीले कतै कमीकमजोरी छन् भने त्यसलाई सच्याएर अगाडि बढ्नुपर्ने धारणा राखे । 

नेकपा माओवादी केन्द्रका विराटनगर इन्चार्ज भोगेन्द्र यादवले माओवादी गठबन्धनका विरुद्धमा रहेको भन्ने हल्ला मात्रै फिँजाइएको बताए  । उनले गठबन्धनलाई मानेर नै माओवादीले विराटनरमा मेयर र उपमेयरमा उमेदवारी नदिएको स्पष्ट पारे । “कतिपयले माओवादी केन्द्र गठबन्धनका विरुद्ध छ भनेर हल्ला फिँजाइरहेका छन् । हामी यहाँ आउनु नै गठबन्धनसँगै छौं भन्ने पुष्टि हुन्छ,” उनले भने ।

गठबनधनका तर्फबाट मेयरमा उमेदवार कोइरालाले केन्द्रले दिएको निर्देशनअनुसार आफूहरू अघि बढेको बताए । उनले गठबन्धन एकढिक्का भएकाले केन्द्रको निर्देशनअनुसार सबै दलले काम गर्ने स्पष्ट पारे । “आफ्नै एउटै लक्ष्य र उद्देश्य भनेको विराटनगर बनाउने हो,” उनले भने, “सुखी, समुन्नत, हराभरा, समृद्ध, सुरक्षित अनि भ्रष्टाचारमुक्त महानगर बनाउनेछु यो मेरो प्रतिज्ञा हो ।” 

गठबन्धनका तर्फबाट उपमेयरका उमेदवार यादवले आफूले स्वास्थ्य सेवा छाडेर समाजसेवामा लागेको बताए । मेयर र उपमेयर दुवैजना विराटनगर बनाउने संकल्पसहित चुनावमा होमिएको प्रस्ट्याए । ठेक्कापट्टा गरेर उपभोक्ता ठग्नेहरू पनि चुनावमा उमेदवार बनेकाले सजग रहन उनले आग्रह गरे । “उपभोक्ता समिति गठन गरेर ठेक्कापट्टामार्फत ठगी गर्ने अनि ७ धुर जग्गालाई २ कठ्ठा बनाउनेहरू पनि मेयरमा उठेका छन्,” उनले भने, “यस्ता व्यक्ति महानगरमा जितेर गए भने के गर्लान् ?” 

कांग्रेस महानगर समितिका सभापति दीपक चापागाईंले गठबन्धनको शक्ति देखेर एमालेहरूको सातो भइसकेको बताए । केन्द्रको निर्णयभन्दा माथि कोही हुन नसक्ने बताउँदै चापागाईंले गठबन्धनलाई बलियो बनाउनेतर्फ आफूहरू लागिपरेको सुनाए ।  
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २४, २०७९  १८:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय