काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेले नेकपा एमालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई नखोजेको बताएका छन् ।
उनीहरुबाहेकका कार्यकर्तालाई जहिले पनि स्वागत गर्न सकिने भन्दै उनले प्रचण्ड र माधव नेपाल लिएर हिँडे चुनाव हारिने जिकिर गरे ।
“हामी अहिले नै प्रचण्ड र माधव नेपालले काम गर्न दिएनन् भनेर जनताकहाँ जाँदैछौँ,” उनले भने, “यस्तो बेलामा उनीहरुलाई बोकेर हिँड्ने कुरा हुँदैन । अब नेपालमा दुई पार्टी सिष्टम आवश्यक देखिइसकेको छ । एउटा ध्रुवको नेतृत्व कांग्रेसले गर्छ, अर्को एमालेले । बाँकी सहायक पार्टीमात्रै हुनेछन् ।”
उनले आगामी स्थानीय तहको निर्वाचनमा एमालेले महानगरमा चमत्कार गर्ने भन्दै उपमहानगर आफूहरुको बलियो क्षेत्र भएको बताए ।
“आगामी निर्वाचनमा एमाले सवल शक्ति भएपछि सबै एमालेमा प्रवेश गर्नेछन्,”उनले भने, “गठबन्धन गर्नैपर्दैन । हामीले घोषितरुपमै हामीले प्रचण्ड र माधव नेपालसँग सहकार्य हुँदैन भनेका छौँ ।”