काठमाडौं । चालु आर्थिक वर्षको राष्ट्रिय कुल गार्हस्थ उत्पादनमा वाग्मती प्रदेशको हिस्सा सबैभन्दा बढी रहने अनुमान गरिएको छ । केन्द्रीय तथ्यांक विभागले बिहीबार सार्वजनिक गरेको प्रादेशिक राष्ट्रिय लेखा अनुमान २०७८/७९ मा वाग्मतीको हिस्सा ३६.९ प्रतिशत हुने जनाइएको हो ।
वाग्मतीपछि अर्थतन्त्रमा सबैभन्दा ठूलो हिस्सा प्रदेश नम्बर–१ को रहने अनुमान विभागको छ । चालु वर्षमा प्रदेश–१ को हिस्सा १५.७ प्रतिशत हुने अनुमान गरिएको छ ।
त्यसपछि लुम्बिनी प्रदेशको किस्सा १४.१ प्रतिशत, मधेस प्रदेशको १३.२ प्रतिशत, गण्डकी प्रदेशको ८.९ प्रतिशत हिस्सा रहने अनुमान छ । सुदूरपश्चिम प्रदेशको हिस्सा ७ प्रतिशत र कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम ४.१ प्रतिशत हुने अनुमान गरिएको विभागले जनाएको छ ।
प्रदेशस्तरीय कुल गार्हस्थ उत्पादनको वृद्धिदर सबैभन्दा बढी वाग्मती प्रदेशको नै छ । चालु वर्षमा वाग्मतीको कुल गार्हस्थ उत्पादनको वृद्धिदर ६.७४ प्रतिशत हुने अनुमान विभागको छ । आर्थिक वर्ष २०७७/७८ मा ४.५८ प्रतिशत र आर्थिक वर्ष २०७६/७७ मा ५.६९ प्रतिशत ऋणात्मक थियो ।
चालु आर्थिक वर्षमा वाग्मतीपछि गण्डकीको वृद्धिदर बढी हुने अनुमान गरिएको छ । गण्डकीको आर्थिक वृद्धिदर ६.१७ प्रतिशत हुने देखिएको छ । गत आर्थिक वर्षमा गण्डकीको आर्थिक वृद्धिदर ३.७३ प्रतिशत थियो । आर्थिक वर्ष २०७६/७७ मा ०.७१ प्रतिशत ऋणात्मक थियो ।
विभागले चालु आर्थिक वर्षमा कर्णाली प्रदेशको आर्थिक वृद्धिदर ५.४७ प्रतिशत, प्रदेश–१ को ५.४१ प्रतिशत, लुम्बिनीको ५.३६ प्रतिशत, सुदूरपश्चिमको ४.९३ र मधेस प्रदेशको ४.८२ प्रतिशत रहने अनुमान गरेको छ ।