काठमाडौं । निर्वाचन आयोगले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-१० को वडाध्यक्ष पदका उमेदवार अमृत खनाललाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न आदेश दिएको छ ।
मतदाताको पाउमा एक हजारको नोट राखेर भोट माग्दै गरेको फोटोसहितको समाचार सार्वजनिक भएपछि आयोगले उनीसँग स्पष्टीकरण मागेको हो ।
"तपाईंले मतदाताको पाउमा हजारको नोट राखेर भोट माग्दै गरेको फोटोसहितको समाचार सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट जानकारी हुन आएकाले सो कार्य भएको हो होइन ? निर्वाचन आचारसंहिता, २०७८ मा मतदातालाई प्रभाव पार्ने गरी कुनै किसिमको गतिविधि गर्न नपाइने भन्ने व्यवस्था रहेकाले त्यस्तो कार्य तत्काल रोक्न निर्देशन दिइएको छ," आयोगको पत्रमा भनिएको छ ।
आयोगले वडाध्यक्षका उमेदवार खनाललाई आधार प्रमाणसहित स्पष्टीकरण पेस गर्न भनेको छ ।