बुटवल । लुम्बिनी प्रदेश सभा बैठक मंगलबार दिउँसो १ बजे सुरु भयाे। प्रदेश सभाको १० औँ अधिवेशनकाे पहिलो बैठक सुरु हुनेबित्तिकै एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रदेश सभामा आफुहरूले राखेका माग पूरा नभएसम्म सदन चल्न नदिने बताए ।
सदनमा ढकालले बोलेलगत्तै एमालेका प्रदेश सभा सदस्यहरूले बेल घेराउ गर्दै नाराबाजी गरे । त्यसपछि सभामुख पूर्ण बहादुर घर्तीले ४५ मिनेटका लागि बैठक स्थगित गरे।
२ बजेलाई बैठक बोलाईयो । बैठकमा एमालेका सांसद अनुपस्थित भए ।
दोस्रो बैठकमा बोल्ने सत्ता पक्षका प्रदेश सभा सदस्यहरूले नेकपा एमालेले लगातार संसद अवरुद्ध गरेर अराजनीतिक गतिविधि गरेको आराेप लगाए । उनीहरूले अदालतमा विचाराधीन मुद्दाको विषयलाई लिएर एमालेले लामो समयसम्म सदन अवरुद्ध गरेर अराजनीतिक र गैरलोकतान्त्रिक चरित्र प्रदर्शन गरेको आराेप लगाएका हुन् ।
बैठकमा नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक तुलाराम घर्ती मगरले नेकपा एमालेले जनताको आवाज बुलन्द गर्ने थलो संसदलाई छ/छ महिनासम्म अवरुद्ध गरेर अराजनीतिक र गैरलोकतान्त्रिक चरित्र प्रदर्शन गरेको आराेप लगाए अदालतमा विचाराधीन मुद्दाको विषयलाई लिएर लगातार संसद अवरुद्ध गर्नुको अर्थ नहुने भन्दै उनले जनताको आवाज उठाउने गर्ने थलोलाई आफ्नो काम गर्न दिनुपर्नेमा जाेड दिए ।
त्यस्तै नेपाली कांग्रेस संसदीय दलकी सचेतक निर्मला क्षेत्री, जनता समाजवादी पार्टीकी प्रदेश सभा सदस्य निर्मला मुडवरी, राष्ट्रिय जनमाेर्चाकी प्रदेश सभा सदस्य तारा जिसीले धारणा राखेका थिए ।
यसअघि सभामुख पूर्ण बहादुर घर्तीले प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभाकाे १० औँ अधिवेशन आह्वान गरेको पत्र तथा प्रदेश प्रमुखबाट प्रमाणिकरण भएका विधेयकहरूकाे सूची सदनलाई जानकारी गराएका थिए ।
आजकै बैठकमा लुम्बिनी प्रदेश सरकारकाे 'प्रदेश खेलकुद विकास पहिलो संशोधन अध्यादेश, २०७८' पेश भएको छ । लुम्बिनी प्रदेशसभाको १० औँ अधिवेशनको दाेस्राे बैठकमा लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री वसीउद्दीन खाँले अध्यादेश सभामा पेश गरेका हुन् ।
प्रदेश सभाको अर्को बैठक आगामी जेठ १० गते दिउँसो १ बजे बस्नेगरि स्थगित भएको छ ।