काठमाडौं । नेपाल र जिम्बाब्वे ‘ए’बीचको दोस्रो ट्वान्टी–२० क्रिकेट वर्षाका कारण नतिजाविहीन बनेको छ ।
सोमबार ४.३ ओभरको खेल चलिरहँदा वर्षा भएपछि खेल स्थगित भएको थियो । तर, त्यसपछि खेल पुनः सुरु हुन नसकेपछि नतिजाविहीन बनेको हो । योसँगै तीन खेलको ट्वान्टी–२० क्रिकेटमा जिम्बाब्वेले १–० को अग्रता लिएको छ ।
नेपाललाई अब शृंखला जोगाउनका लागि बुधबार हुने अन्तिम खेलमा जित्नैपर्ने दबाब छ । पहिलो खेलमा जिम्बाब्वे ६ विकेटले विजयी भएको थियो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका थिए ।
नेपालले पहिलो खेलको टोलीमा एक खेलाडी परिवर्तन गरेको थियो । आरिफ शेखको स्थानमा भीम सार्कीलाई मौका दिइएको थियो ।