किभ । अमेरिकी सभामुख न्यान्सी पेलोसी युक्रेनकाे राजधानी किभ पुगेकी छन् । अमेरिकी कंग्रेस प्रतिनिधिमण्डलकाे नेतृत्व गर्दै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीसँग भेट्न पेलाेसी शनिवार किभ पुगेकी हुन् । आइतवार उनी पोल्यान्ड पुग्ने कार्यक्रम पनि रहेकाे बताइएकाे छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेन र उप राष्ट्रपतिपछि दोश्रो वरियतामा पर्ने क्यालिफोर्नियाकी डेमोक्रेट पेलोसी रुसले युक्रेनमा आक्रमण सुरु गरेयता युक्रेन पुग्ने सबैभन्दा वरिष्ठ अमेरिकी विधायक हुन् ।
उनको किभ भ्रमण अमेरिकाको मस्कोविरुद्ध युरोपलाई निरन्तर सहयोगको महत्वपूर्ण संकेत हो । आइतवार सार्वजनिक गरिएको एक विज्ञप्तिमा पेलोसीले भनेकीछन्, “ हाम्रो प्रतिनिधिमण्डलले किभ भ्रमण गरेर सम्पूर्ण विश्वलाई अमेरिका युक्रेनका लागि कडा अडान सहित उभिएको बताउन चाहन्छ ।”
राष्ट्रपति जेलेन्स्कीको कार्यालयले पेलोसी र अन्य अमेरिकी विधायकहरूले किभ भ्रमण गरेको भिडियो फुटेज सार्वजनिक गरेको छ । सो भिडियोमा सभामुख पेलोसी र जेलेन्स्कीले युद्धमा सहयोग गरेबापत एकअर्कालाई धन्यवाद दिएको देखिन्छ । जेलेन्स्कीले भनेका छन्, “ हामीले जित्छौँ र हामीले सँगै जित्नेछौंँ ।”
त्यसैगरी भिडियोमा पेलोसीले भनेकी छन्, “विजय प्राप्त नगरुन्जेल हामी यहाँ हुनेछौँ।”
एजेन्सी ।