काठमाडौं । पिछल्लो समय विवादित बनेको नेपाल सुपर लिग (एनएसएल)का लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले नयाँ मिति दिएको छ । एन्फाले भदौ १५ गतेबाट सुरु हुनेगरी नयाँ मिति दिएको छ । तर, आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्टले दश दिन पछाडिबाट प्रतियोगिता सुरु गर्ने गरी अर्को मिति दिन अनुरोध गरेको छ ।
‘‘एन्फाले भदौं १५ देखी असोज २५ गतेसम्म प्रतियोगिता गर्नका लागि नयाँ मिति दिएको छ,’’ नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्ट प्रालिका निर्देशक सुदीप शर्माले भने, ‘‘तर, हामीले त्यतिबेला पनि वर्षायाम नसकिने भएकाले भदौ २५ गतेदेखी कात्तिक ५ गतेसम्मको मिति दिन अनुरोध गरेका छौं । त्यसको जवाफ आएको छैन ।’’
एन्फाले दिएको मितिअनुसार भदौ १५ गते सुरु भई असोज २५ गतेसम्म समापन हुनेछ । एन्फाले आफूले दिएकै मितिमै प्रतियोगिता गर्न भन्यो भने के गर्नुहुन्छ भन्ने प्रश्नमा निर्देशक शर्माले बाह्रखरीसँग भने, ‘‘हामी यसै भन्न सक्ने स्थितिमा छैनौं । हाम्रा क्लबहरुसँग एकपटक छलफल गरेरमात्र निर्णय सार्वजकि गर्नेछौं ।’’
यसअघि चैत २५ गतेबाट जेठ १५ गतेसम्म प्रतियोगता गर्ने भनिएको थियो । त्यसका लागि आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्टले फागुन २० गते खेलाडीको अक्सन गरेको थियो । अक्सनमा १० फ्रेन्चाइज क्लबले समान १५ गरी १५० खेलाडीलाई टिममा अनुबन्ध गरेका थिए ।
तर, सहीद स्मार ‘ए’ डिभिजन लिगका क्लबहरुले आफूसँग अनुबन्ध भएका खेलाडीलाई स्विकृतिविना अनुबन्ध गरेको भन्दै विरोध गरेपछि विवाद बढ्दै गएको थियो । जरका कारण प्रतियोगिताको मिति सार्नु परेको थियो । प्रतियोगिता नै हुने/नहुने अन्योल भएको थियो । तथापि, एन्फाले नयाँ मिति दिएपछि प्रतियोगिता गर्ने सम्भावना बढेको छ ।