वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रनेलाई ३३ अर्ब डलर सहयोग गर्ने घोषणा गरेका छन् ।
उनले युक्रेनलाई सैन्य, आर्थिक र मानवीय सहयोग गर्न कंग्रेससँग सो रकम माग गरेका छन् । राष्ट्रपति बाइडेनले बिहीवारकाे सम्बाेधनमा सांसदहरूले आफ्नो प्रतिरक्षा गर्न युक्रेनलाई सक्षम बनाउने सहयोग सम्झौतालाई अनुमोदन गर्नु अत्यावश्यक रहेको बताए ।
सो सहयोग प्रस्तावमा २० अर्ब डलर भन्दा बढी सैन्य सहायता, ८.५ अर्ब डलर आर्थिक सहायता र ३ अर्ब डलर मानवीय सहायता समावेश गरिएको छ ।
“यो सस्तो छैन,” बाइडेनले भने, “यदि हामीले यस्तै हुन दियौँ भने आक्रमण कम गर्न धेरै महँगो पर्नेछ ।”
यद्यपि, अमेरिकाले युक्रेनका लागि पहिले नै धेरै सहयोग गरिसकेको छ ।
बाइडेनले युक्रेनका लागि अमेरिकी सैन्य सहयोग त्यहाँ तैथान गरिएका प्रत्येक रुसी ट्याङ्कविरुद्ध १० एन्टि–ट्याङ्क हतियार बराबर रहेको बताए ।
बिहीवार नै रुसी विदेश मन्त्रालयका प्रवक्ताले युक्रेनलाई दिइएको पश्चिमी सैन्य सहयाेगले ‘महादेशको सुरक्षा’लाई खतरामा पार्ने बताएका छन् ।
‘अमेरिकाले रुसलाई आक्रमण गरेको छैन’
तर, आफ्नो कडा बयानबाजीको बाबजुद बाइडेनले अमेरिकाले रुसमा आक्रमण नगरेको तर रुसी आक्रमणविरुद्ध युक्रेनलाई सहयोग गरेको बताएका छन् । “हामीले युक्रेनलाई रुसी आक्रमणविरुद्ध प्रतिरक्षा गर्न सहयोग गरिरहेका छौँ,” उनले जोड दिए ।
बिहीवारको आफ्नो भाषणमा बाइडेनले आणविक टकरावको चिन्तालाई पनि सम्बोधन गरे ।
बुधबार रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनमा आणविक युद्धको गम्भीर जोखिमको चेतावदी दिँदै यसलाई कम आकलन गर्न नसकिने बताएका थिए ।
“कसैले पनि आणविक हतियारको प्रयोगको बारेमा बेकारको टिप्पणी गर्नु हुँदैन,” बाइडेनले भने । उनले युरोपलाई रुसले ग्यास ब्ल्याकमेल गरेको पनि आरोप लगाए । उनले रुसलाई त्यसो गर्न नदिने पनि बताए ।
कठिन घडीमा अमेरिकी अर्थतन्त्र
अमेरिकी अर्थतन्त्र कठिन समयमा रहेका बेला नयाँ सहायता प्याकेज घोषणा आएको हो ।
ब्यूरो अफ इकोनोमिक एनालिसिसले बिहीवार जारी गरेको तथ्याङ्कले अमेरिकी अर्थतन्त्र सन् २०२२ को पहिलो त्रैमासिकमा संकुचित भएको देखाउँछ । ज्यानुअरी र मार्चको बीचमा कुल ग्रार्हस्थ उत्पादन १.४ प्रतिशतले घटेको छ ।
तर, यो प्याकेज सांसदहरूले अनुमोदन गर्ने सम्भावना रहेको बीबीसीले जनाएको छ ।
युद्ध सुरु भएपछि बाइडेनले सहायताको लागि गरेको पहिला अनुरोध कंग्रेसले अनुमोदन गरेको थियो, जुन १४ अर्ब डलर भन्दा कम थियो । गत हप्ता बाइडेनले ८० करोड डलर सैन्य सहायता प्याकेज र ५० करोड डलर प्रत्यक्ष आर्थिक सहायताको अख्तियारी दिएका थिए ।
फेब्रुअरीको अन्त्यमा युद्ध सुरु भएदेखि नै युक्रेनलाई सहयोग गर्न अमेरिका द्रुत गतिमा अघि बढेको छ ।
रुसविरुद्ध अमेरिकाले चालेका कदमहरू
उसले युरोपका नेटो सदस्य देशहरूमा एक लाख भन्दा बढी फौज परिचालन गरेको छ ।
सैयौँ रुसी शासकवर्ग र राजनीतिकर्मीहरूमाथि आर्थिक प्रतिबन्ध, सम्पत्ति रोक्का र यात्रा प्रतिबन्ध लगाएको छ ।
रुसी बैंकहरू तथा सुरक्षा संस्थाहरूमाथि प्रतिबन्ध लगाएको छ । रुसका प्रमुख बैंकहरूलाई स्वीफ्ट म्यासेजिङ सिस्टममा प्रतिबन्ध लगाएको छ ।
रुसी तेल आयात बन्द गरेको छ । घरेलु हवाई क्षत्रमा रुसी विमानलाई रोक लगाएको छ ।
बीबीसीबाट ।