सिंगापुर सिटी । सिंगारपुरस्थित एक अदालतले एक मलेसियाली लागुऔषध तस्करलाई मृत्युदण्ड दिएको छ । करिब तीन चम्चा बराबरको परिमाणमा सिंगापुरमा हिरोइन ल्याएका नागाएन्थ्रान धर्मलिंगम एक दशक भन्दा लामो समयदेखि मृत्युदण्डको प्रतीक्षमा थिए ।
एकजना चिकित्सकले उनको बौद्धिक क्षमताको स्तर ६९ मात्र भएको जनाएकाले उनको मुद्दा निकै विवादास्पद रहँदै आएको थियो । बौद्धिकस्तरले उनी बौद्धिक रूपमा अशक्त रहेको संकेत गर्छ ।
तर, सरकारले भने उनले आफ्नो कार्यको प्रकृतिबारे स्पष्ट बुझेको बताएको छ ।
मंगलबार उनकी आमाले उनलाई मृत्युदण्ड नदिन भनी गरेको अन्तिम अपिल पनि अदालतले अस्वीकार गरेको थियो । अदालतले ११ वर्षभित्र सम्बन्धित कुनै पनि कानुनअनुसार उनले अपिल गर्ने अधिकारसमेत गुमाइसकेको जनाएको छ । अन्तिम निर्णयपछि नागाएन्थ्रानले 'मा' भन्दै रोएको आवाज अदालत कक्षमा गुन्जिएको थियो ।
सन् २००९ मा मलेसियाबाट सिंगापुर आएका उनलाई बाँया तिघ्रामा ४३ ग्राम हिरोइन बेरेर ल्याएको अवस्थामा गिरफ्तार गरिएको थियो । सिंगापुरको प्रचलित कानुनअनुसार १५ ग्राम भन्दा बढी हिरोइनको साथमा पक्राउ पर्नेलाई मृत्युदण्ड दिइने प्रावधान छ ।
बीबीसीबाट ।