मस्को । युक्रेनमाथि आक्रमण गरिरहेको रुसले तेस्रो विश्वयुद्धको चेतावनी दिएको छ । नेटोले किभलाई हतियार आपूर्ति गरेर ‘सारमा’ मस्कोसँगको प्रोक्सी वार (छद्म युद्ध) मा संलग्न भएको उसको आरोप छ ।
सोमबार सरकारी टेलिभिजनमा प्रसारित अन्तरवार्तामा रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेन द्वन्द्व बढ्दै गए तेस्रो विश्व युद्धमा जाने खतरा रहेको चेतावनी दिएका हुन् । आणविक द्वन्द्वको जोखिमलाई कम आकलन गर्न नहुने र युक्रेन द्वन्द्वको अन्त्य गर्ने कुनै पनि सम्झौता मूलतः भूमिमा रहेको सैन्य स्थितिमा निर्भर रहने उनको भनाइ छ ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन र रक्षामन्त्री लोयड अस्टिनले किभ भ्रमण गरी युक्रेनलाई थप सैन्य सहायता उपलब्ध गराउने वाचा गरेको केही घण्टापछि लाभरोभको अन्तरवार्ता प्रसारण भएको थियो । अस्टिनले अमेरिकाले रुस कमजोर देख्न चाहेको बताएका थिए । र, मस्कोविरुद्ध जित हासिल गर्न युक्रेनलाई हतियार सहयोग गर्ने प्रतिबद्धता गरेका थिए ।
अमेरिकाले युक्रेन सम्बन्धी प्रतिरक्षा छलफल गर्न यसैसाता ४० भन्दा बढी देशको भेला आयोजना गर्दै छ । उक्त जमघट युक्रेनलाई थप हतियार उपलब्ध गराउनेमा केन्द्रित हुनेछ ।
सोमवारको अन्तरवार्तामा लाभरोभलाई तेस्रो विश्व यद्धबाट बच्नुको महत्व र हालको अवस्था सन् १९६२ मा भएको क्युवाली मिसाइल संकटसँग तुलना गर्न मिल्ने हो कि होइन भनेर सोधिएको थियो, जुन अमेरिका–सोभियत सम्बन्धको न्यून बिन्दु हो ।
रुसले आणविक युद्धलाई हर हालतमा रोक्ने प्रयास गर्ने सिद्धान्तलाई कायम राख्न धेरै काम गरिरहेको लाभरोभले बताए । “यो हाम्रो मुख्य स्थिति हो जसमा हामी सबै कुराको आधार बनाउँछौ । जोखिमहरू अहिले पर्याप्त छन्,” लाभरोभले भने ।
“म ती जोखिमहरूलाई बनावटी (कृत्रिम) रूपमा बढाउन चाहन्न । धेरैलाई यो मनपर्छ । खतरा गम्भीर छ, वास्तविक छ । र हामीले यसलाई कम आकलन गर्नु हुँदैन ।”
रुसले युक्रेनमाथि आक्रमण सुरु गरको दुई महिना पूरा भएर तीन महिनामा प्रवेश गरेको छ । दोस्रो विश्व युद्धपछि युरोपमा भएको सबैभन्दा ठुलो आक्रमणले हजारौँ मानिसको ज्यान लिएको छ, हजारौँ मानिसलाई घाइते बनाएको छ र ५० लाख भन्दा बढी मानिसहरू विदेशमा शरण लिन बाध्य पारेको छ ।
मस्कोले आफ्नो कार्यलाई युक्रेनलाई निशस्त्रीकरण गर्न र नाजीहरूबाट जोगाउन गरिएको ‘विशेष सैन्य कारबाही’ भनेको छ । किभ र पश्चिमाले यसलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सार्वभौमसत्ता सम्पन्न देशमाथि आक्रमणको अप्रत्यासशित युद्धको झुटो बहाना भनेका छन् । युद्धको प्रारम्भमै रुसी नेताले पश्चिमबाट ‘आक्रामक अभिव्यक्ति’ आएको भन्दै आफ्ना आणविक प्रतिरोधी बललाई उच्च सतर्कतामा राखेका छन् ।
‘वैध निसाना’
लाभरोभले मस्कोको कार्यको बचाउ गर्दै वार्ताको कमी हुनुमा वासिङ्टनलाई पनि दोष दिएका छन् ।
“संयुक्त राज्यले व्यावहारिक रूपमा सबै सम्पर्कहरू बन्न गरेको छ यो किनभने हामी युक्रेनमा रुसीहरूको रक्षा गर्न बाध्य थियौँ,” लाभरोभले आफ्नो दक्षिणी छिमेकीमा मस्कोको आक्रमण जायज भएको तर्क दिँदै दाबी गरे ।
जाभलिन, एन्टी–ट्याङ्क मिसाइल, बख्तरबन्द गाडी, उन्नत ड्रोनहरू लगायत अत्याधुनिक हतियारहरूको पश्चिमी आपूर्तिहरू द्वन्द्वलाई अन्त्य गर्नुको सट्टा लम्ब्याउनका लागि गरिएका उत्तेजक उपायहरू भएको उनको भनाइ छ ।
“विशेष सैन्य कारबाहीको सन्दर्भमा रुसको सैन्य कार्यका लागि यी हतियारहरू वैध निसाना हुनेछन्,” लाभरोभले भने ।
“पश्चिमी युक्रेनमा भण्डारण सुविधाहरू एक पटक भन्दा बढी (रुसी सेनाद्वारा) लक्षित गरिएको छ । यो अन्यथा कसरी हुन सक्छ ?” उनले थपे । “नेटा, संक्षेपमा, प्रोक्सीमार्फत रुससँग युद्धमा संलग्न छ र त्यो प्रोक्सी सशस्त्र गरिरहेको छ । युद्ध भनेको युद्ध हो ।”
उनले युक्रेनी अधिकारीहरूले असल मनसायले वार्ता नगरेको पनि आरोप लगाएको छन् । पूर्व अभिनेता राष्ट्रपति भोलोदिमिर जेलेन्स्की हातमा रहेको काम–वार्ता गर्नुभन्दा पनि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनजस्तै जनतासँग खेलिरहेको बताए ।
“उनीहरू ग्यालरीमा खेल्ने क्षमतामा एकै समान छन् । उदाहरणका लागि तिनीहरू वार्तालापको नक्कल गर्छन्,” लाभरोभले भने ।
यद्यपि, मस्कोले युक्रेनी वार्ता टोलीसँग कुराकानी जारी राख्ने उनले बताए ।
‘मस्कोले पराजय महसुस गर्यो’
यसैबीच, युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले लाभरोभले दिएको आणविक द्वन्द्वको चेतावनीको अर्थ ‘मस्कोले पराजय महसुस गरेको’ मात्र हुने बताएका छन् । सोमबार अबेर ट्विट गर्दै उनले किभलाई सहयोग जारी राख्न पश्चिमालाई आग्रह पनि गरेका छन् ।
“रुसले युक्रेनलाई समर्थन गर्नबाट विश्वलाई डर देखाउने अन्तिम आशा गुमाएको छ,” कुलेबाले ट्विटरमा लेखेका छन् ।
“यसकारण तेस्रो विश्व युद्धको वास्तविक खतराको कुरा आएको छ । यसको अर्थ मस्कोले युक्रेनमा पराजय महसुस गरेको मात्र हो । त्यसकारण विश्वले युक्रेनलाई समर्थन दोब्बर पार्नुपर्छ ताकि हामी युरोपेली र विश्वव्यापी सुरक्षा कायम गर्न र रक्षा गर्न सक्छौँ ।”
तेस्रो विश्व युद्धमा चासो छैन : चीन
चीनले तेस्रो विश्व युद्ध नचाहेको र युक्रेनको द्वन्द्व कूटनीतिमार्फत समाधान गर्ने पक्षमा रहेको बताएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङले मंगलबार भने, “चिनियाँ अधिकारीहरूले तेस्रो विश्व युद्ध खोजिरहेका छैनन्, युक्रेनको द्वन्द्व कूटनीतिमार्फत् समाधान गर्ने पक्षमा छन् ।”
तेस्रो विश्व युद्धको खतरा रहेको रुसी विदेशमन्त्री लाभरोभको टिप्पणीमाथि सोधिएको प्रश्नमा वाङले कसैले पनि तेस्रो विश्व युद्ध नचाहेको बताए । रुस र युक्रेनबीच शान्ति वार्तालाई सहयोग गर्न आवश्यक रहेको उनको भनाइ छ ।
संयुक्त राष्ट्रसंघका महासचिव मस्कोमा
यसैबीच, युद्ध अन्त्यको पहल गर्न संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस मंगलबार मस्को पुगेका छन् । उनले रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग वार्ता गरेका छन् । गुटरेसले राष्ट्रपति पुटिनसँग पनि आजै वार्ता गर्नेछन् । उनले तत्तकाल युद्ध अन्त्य गर्नुपर्ने बताएका छन् ।