पेरिस । इम्यान्युयल म्याक्रोँ फेरि पाँच वर्षका लागि फ्रान्सका राष्ट्रपतिमा निर्वाचित भएका छन् । दोस्रो चरणको निर्वाचनमा मध्यमार्गी म्याक्रोँले कट्टर दक्षिणपन्थी ली पेनलाई अहिलेसम्मकै ठुलो मतान्तरले पराजित गरेका हुन् ।
कुल खसेको मतमध्ये म्याक्रोँले ५८ दशमलब ५५ र ले पेनले ४१ दशमलब ४५ प्रतिशत मत हासिल गरेका छन् ।
विजय उत्सव मनाउने क्रममा ऐतिहासिक आइफल टावरको फेदबाट समर्थकहरूलाई सम्बोधन गर्दै म्याक्रोँले अब निर्वाचन सकिएको र आफू सबैका लागि राष्ट्रपति बनेको बताएका छन् । फ्रान्सको बिस वर्ष लामो इतिहासमा पुन: निर्वाचित हुने उनी पहिलो राष्ट्रपति बनेका छन् ।
पराजयका बाबजुद पनि ५३ वर्षीया ली पेनले आफूलाई प्राप्त महत्वपूर्ण मत संख्याले अझै आफूलाई विजयीकै संकेत दिएको प्रतिक्रिया दिएकी छन् । तर, कट्टर दक्षिणपन्थी प्रतिद्वन्द्वी एरिक जेम्मोरले अन्तत: उनी राजनीतिमा असफल रहेको बताएका छन् ।
ली पेनले असफलता भोगेको यो आठौँपटक हो । ली पेनले सन् २०११ मा आफ्नो पिता जिन–म्यारी ली पेनले स्थापना गरेको पार्टीको बागडोर सम्हाल्दै आएकी छन् ।
बीबीसीबाट ।