काठमाडौं । अखिल (क्रान्तिकारी)का महासचिव दिपेश पुनले विद्यासुन्दर शाक्यको कार्यकाल वेहोरेका काठमाडौं महानगरका जनताले एमालेलाई पुनः मतदान नगर्ने बताएका छन् । अखिल क्रान्तिकारी कान्तिपुर कलेज अफ इन्जिनियरिङद्वारा आयोजित अन्तरकलेज बास्केटबल प्रतियोगिता समापन कार्यक्रमलाई सम्बोधन गदै पुनले सुन्दर काठमाडौंका जनतालाई बेवास्ता गर्ने पार्टीलाई जनताले फेरि भोट नहाल्ने बताए ।
“जुनतारा झार्ने भाषण गरेर मेयर जितेका विद्यासुन्दरले सिन्कोसमेत नभाँचेर पाँच वर्ष बिताए,” पुनले भने, “विद्यासुन्दरसँगै मेयर भएका ललितपुरका चिरिबाबुले ललितपुरको विकास र सम्पदा संरक्षणमा निकै राम्रा काम गरेका छन् । भक्तपुरलाई मजदुर किसान पार्टीले बसौँ–बसौँ लाग्ने बनाएको छ ।”
उनले चितवनको भरतपुर महानगरकी मेयर रेनु दाहालले भरतपुरलाई देशकै नमुना नगर बनाएको भन्दै एमालेले जितेको पोखरामा पनि चरम अव्यवस्था र भ्रष्टाचार भएको तथ्य सार्वजनिक भइसकेको बताए ।
“काठमाडौं झन–झन कुरुप बनिरह्यो, एमाले प्रतिनिधि मालामाल भएर व्यक्तिगत स्वार्थमा मात्र रमाए,” पुनले भने, “उनले काठमाडौंसहित महानगरका सचेत जनताले अब खराब जनप्रतिनिधिको विकल्प खोज्ने दाबी गरे ।