काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले घोषणापत्र सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर जसपाले घोषणापत्र सार्वजनिक गरेको हो ।
जसपाले घोषणापत्रमा 'भ्रष्टाचारमुक्त बनाऔँ, विकास र समृद्धिको अभियान अघि बढाऔँ' भन्ने नारा दिएको छ ।
निर्वाचनले स्थानीय लोकतन्त्र, स्वायत्तता, स्वशासनको प्रत्याभूति तथा प्रभावकारी सेवासुविधाप्रदान गर्न उल्लेखनीय योगदान गर्ने जसपाको विश्वास छ । जसपाले वडा र पालिका कार्यालयहरूलाई सेवाग्राहीमैत्री बनाइने, जनतालाई छिटो, छरितो सेवा सुविधा प्रदान गरिने भ्रष्टाचारमा शून्यसहनशीलता कायम गर्ने र सरकारी कर्मचारी, राजनीतिक नेतृत्वले भ्रष्टाचार गरेमा प्रमाण भेटिएमा तुरुन्त कानुनी कारबाही गरिने जनाएको छ ।
त्यस्तै प्रत्येक वडामा ५० र नगरपालिकामा ५०० जना युवालाई रोजगारी दिने र माध्यामिक तहसम्मको शिक्षा व्यवहारिक रूपमै निःशुल्क र गुणस्तरीय बनाउने घोषणापत्रमा उल्लेख गरिएको छ । त्यस्तै, स्थानीय तहको करको दायरालाई बढाएर करको दरलाई कम पार्ने योजना जसपाको रहेको उनले बताए ।
जसपाले मधेसी, थारू, मुस्लिम, आदिबासीजनजाति, खस, सीमान्तकृत, अल्पसंख्यक तथा लोपोन्मुख जाति, शिल्पी/दलित, दूर्गमबासी, महिला, लैङ्गिक अल्पसंख्यकआदिको सम्मानजनक सहभागिता गर्ने प्रतिवद्धता जनाएको छ । आधुनिक शौचालय सुविधा नपुगेका घर–परिवारलाई शौचालय निर्माण गर्न १० हजारको अनुदान दिनेलगायतका योजना जसपाको घोषणापत्रमा उल्लेख छ ।